विद्यालयमा अनुहार ढाक्न प्रतिबन्ध लगाउँदै इटाली, कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या पनि तोकिने


प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार

Photo: Caleb Miller /Unsplash

इटाली सरकारले विद्यालयहरूमा अनुहार ढाक्ने बुर्का र निकाब माथि प्रतिबन्ध लगाउने तथा प्रत्येक कक्षामा विदेशी विद्यार्थीहरूको अधिकतम सङ्ख्या तोक्ने तयारी गरिरहेको छ। प्रधानमन्त्री जोर्जिया मेलोनीले आफ्नो पार्टीको युवा सङ्गठनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उक्त कुराको घोषणा गरेकी हुन।

भूमध्यसागरीय क्षेत्रको केन्द्रमा अवस्थित भएकाले इटाली आप्रवासीहरूको आगमनबाट बढी प्रभावित युरोपेली देशहरूमध्ये पर्छ। यसले गर्दा आप्रवासन यहाँका हरेक सरकारका लागि सधैँ बहस र चुनौतीको विषय बन्दै आएको छ।

विशेष गरी मुस्लिम बहुल देशहरूबाट आउने आप्रवासीहरूको एकीकरण इटालीको राजनीति र समाजमा विवादित रहँदै आएको छ। धार्मिक प्रतीक, सांस्कृतिक घुलमिल, नागरिकताका नियम र आप्रवासन नीतिहरूले प्रायः सार्वजनिक मतलाई विभाजित गर्ने गरेका छन्।

“कक्षामा विदेशी विद्यार्थीहरूको अधिकतम सङ्ख्या कानूनी रूपमा निर्धारण गर्न चाँडै मन्त्रिपरिषद्‌मा एउटा प्रस्ताव पेस गरिनेछ। यसका साथै विद्यालय प्रणालीमा घुलमिल हुन समस्या भइरहेका विदेशी विद्यार्थीका अभिभावकहरूले इटालियन भाषा सिक्नुपर्नेछ र विद्यालयमा बुर्का तथा निकाब लगाउन प्रतिबन्ध लगाइनेछ,” मेलोनीले ‘ब्रदर्स अफ इटली’ पार्टीको युवा कार्यक्रममा भनिन्।

यदि कक्षामा भाषा नबुझ्ने एक जना मात्र बच्चा छ भने, उसले सहपाठी र शिक्षकहरूको सहयोगमा चाँडै भाषा सिकेर घुलमिल हुन सक्छ। तर, यदि भाषा नबुझ्ने बालबालिकाको सङ्ख्या धेरै वा बहुमत भयो भने, त्यो घुलमिल होइन, बेवास्ता वा उपेक्षा बन्न पुग्छ।

मेलोनीले कक्षामा विदेशी विद्यार्थीको अधिकतम सङ्ख्या कति हुनेछ भन्ने विषयमा भने स्पष्ट पारेकी छैनन्। अध्ययन संस्था ‘फोन्डाजियोने आईएसएमयू’का अनुसार इटालीका विद्यालयमा भर्ना भएका कुल विद्यार्थीमध्ये ११.६ प्रतिशत गैर-इटालियन नागरिक छन्।

“विद्यालय जाँदा अनुहार खुला राखेरै जानुपर्छ। इटालीमा वास्तविक वा बनावटी परम्पराको नाममा कसैले पनि कुनै युवतीलाई आफ्नो अनुहार लुकाउन बाध्य पार्न पाउँदैन,” मेलोनीले भनिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com