ट्रम्प प्रशासनभित्रै अध्यागमन नीतिमा विवाद: असन्तुष्ट समूह फकाउँदै मार्कवेन मुलिन
प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार
तस्विरः गेज स्किडमोर CC BY-SA 2.0 अन्तर्गत
अमेरिकाका डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनले कडा आप्रवासन नीतिका समर्थक र ‘मागा’ कार्यकर्तामाझ खस्किएको आफ्नो छवि सुधार्न व्यापक जनसम्पर्क अभियान सुरु गरेका छन्। तर, यो प्रयासले हालसम्म ठोस सफलता पाउन सकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अध्यागमन नीति फितलो बनाएको आरोप झेलिरहेका मुलिनले आफ्नो समर्थन पुनः कायम गर्न आधिकारिक सामाजिक सञ्जालहरूमा देश निकाला र आइसका गतिविधि सम्बन्धी सामग्री ह्वात्तै बढाएका छन्। एक अध्ययन अनुसार, मे र जुन महिनाको तुलनामा जुलाई र अगस्टमा होमल्यान्ड सेक्युरिटी खाताहरूबाट आइस र कागजातविहीन आप्रवासी” जस्ता शब्दको प्रयोग ५० प्रतिशतले वृद्धि भएको छ।
हालैका महिनाहरूमा मिनियापोलिस घटना र कडा छापा मार्ने शैलीमा परिवर्तन गरिएपछि दक्षिणपन्थी समूहहरू मुलिनसँग असन्तुष्ट बनेका थिए। मुलिनले श्रम बजारको आवश्यकता पूरा गर्न केही क्षेत्रमा रोजगार भिसा बढाउने र नागरिकता दिने प्रक्रियाबारे दिएको अभिव्यक्तिले पनि उनीहरूलाई थप क्रुद्ध बनाएको थियो।
आलोचनाको जवाफ दिँदै होमल्यान्ड सेक्युरिटीले सेप्टेम्बर ७ सम्ममा ११ लाखभन्दा बढी गैरकानुनी आप्रवासी पक्राउ परेको र जुलाई तथा अगस्टमा कीर्तिमानी संख्यामा देश निकाला गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ।
यद्यपि, पूर्व अध्यागमन अधिकारी र कट्टरपन्थी नेताहरूले भने यी कदमहरूलाई केवल “देखावटी राजनीति” र अपारदर्शी सञ्चार नीतिको संज्ञा दिँदै मुख्य श्रमस्थलहरूमा कडा कारबाही नभएसम्म आत्म-देशनिकाला प्रभावकारी नहुने दाबी गरेका छन्।





