विषालु भग्नावशेष सफा गरेका आप्रवासी मजदुर: स्वास्थ्य गुमेपछि अध्यागमनको त्रास


प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार

Photo:Documerica/ Unsplash

प्रत्येक हप्ता क्विन्सको एउटा कार्यालय भवनमा ५० र ६० वर्ष उमेर समूहका आप्रवासीहरूको टोली भेला हुन्छ। करिब २५ वर्षअघि सन् २००१ सेप्टेम्बर ११ (९/११) को विनाशकारी आतंकवादी हमलापछि तल्लो म्यानहट्टनस्थित ‘ग्राउन्ड जिरो’ को भग्नावशेष सफा गर्ने क्रममा उनीहरूको भेट भएको थियो।

उक्त क्षेत्र सफा गर्न खटिएका हजारौँ मजदुरमध्ये ठूलो संख्या आप्रवासीहरूको थियो, जसमा ६,००० भन्दा बढी कागजातविहीन थिए। उनीहरूले कुनै पर्याप्त सुरक्षा उपकरणविना धूलो र विषालु भग्नावशेष सफा गरेका थिए। आज २५ वर्षपछि, एकातिर उनीहरू गम्भीर स्वास्थ्य समस्या र मानसिक आघातसँग जुधिरहेका छन् भने अर्कातिर कडा आप्रवासन नीतिका कारण देशनिकाला हुने उच्च जोखिम र त्रासमा बाँच्न बाध्य छन्।

कोलोम्बियाकी आप्रवासी लुसेली सेप्टेम्बर १२, २००१ को बिहान कामको खोजीमा उभिरहेकी थिइन्। एउटा भ्यान आयो र उनलाई प्रतिघन्टा ८.५० डलरको ज्यालामा सरसफाइका लागि लगियो।

“यदि चालकले हामीलाई खतराको क्षेत्रमा जाँदैछौँ भनेर भनेको भए सायद कोही पनि जाने थिएनन्,” लुसेली सम्झिन्छिन्। सामान्य घरायसी सरसफाइका मास्क र रबरका पञ्जा मात्र लगाएर खटिएका उनीहरूले घन्टौँसम्म काम गरे। “हामी भग्नावशेष र धूलोमै बसेर खाना खान्थ्यौँ र तिनै कपडा लगाएर घर फर्किन्थ्यौँ।”

फलस्वरूप, लुसेली पछि स्तन क्यान्सर र श्वासप्रश्वासको गम्भीर रोगबाट ग्रसित भइन्। ‘वर्ल्ड ट्रेड सेन्टर हेल्थ प्रोग्राम’का अनुसार विषालु भग्नावशेषका कारण ५७,००० भन्दा बढी मानिसमा क्यान्सर र अन्य स्वास्थ्य समस्याहरू देखिएका छन्।

सामाजिक कार्यकर्ता रोजा ब्राम्बल क्याबालेरोका अनुसार शहरका मुख्य ठेकेदारहरूले सहायक ठेकेदारमार्फत सडकका कुनामा उभिने दैनिक ज्यालादारी मजदुरहरूलाई खटाएका थिए। धेरैजसोलाई त आफूहरू ग्राउन्ड जिरो जाँदैछौँ भन्ने जानकारीसमेत थिएन।

यी आप्रवासी मजदुरहरूलाई अमेरिकी नागरिकता दिने उद्देश्यले सन् २०१७, २०२१ र २०२५ मा प्रस्तुत गरिएको ‘९/११ इमिग्रन्ट वर्कर फ्रिडम एक्ट’ संसदमा दर्ता भए पनि अघि बढ्न सकेको छैन। सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले यी मजदुरहरूलाई नागरिकता दिनु उचित हुने बताए पनि राजनीतिक असहमतिका कारण विधेयक अझै अलपत्र छ।

ग्वाटेमालाकी अर्की आप्रवासी रोजाले भग्नावशेष सफा गर्ने क्रममा मानव अंगहरू भेट्टाएको र पछि आँखामा पट्टी बाँधेर बहुमूल्य वस्तु तथा सामानहरू छुट्याउने काममा लगाइएको कहालीलाग्दो अनुभव सुनाइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी भन्छिन्, “म अहिल्यै पनि कोठामा बस्दा ढोका नदेखेसम्म अत्तालिन्छु। त्यो समयको डर र दृश्यहरू म कहिल्यै भुल्न सक्दिनँ।”

कागजातविहीन मजदुरहरूले क्षतिपूर्ति पाए पनि त्यो रकम स्वास्थ्य उपचारका लागि पर्याप्त छैन। स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने भएका उनीहरू आफ्नै देश फर्कन पनि सक्दैनन्, किनकि त्यहाँ स्तरीय उपचारको अभाव छ। अमेरिकामा बस्दा भने आइसले जुनसुकै बेला पक्रेर पठाउला भन्ने निरन्तर डर छ।

“जब हामी ग्राउन्ड जिरो पुगेका थियौँ, तब कसैले हाम्रो कानुनी हैसियत सोधेका थिएनन्,” लुसेली भन्छिन्, “त्यतिबेला सबैले ‘जाऊ लुसेली, भित्र जाऊ’ भन्थे। आज भने हामी डरैडरमा बाँच्न बाध्य छौँ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com