ओरेगनमा ट्रम्प प्रशासनको कडाइ: आप्रवासी पक्राउ झन्डै दोब्बरले वृद्धि


प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार

तस्वीर : आइस

सन् २०२६ को पहिलो सात महिनामा ओरेगन राज्यमा भएका आप्रवासनसम्बन्धी पक्राउको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर पुगेको राज्यका अधिकारीहरूले बुधबार मानवाधिकारसम्बन्धी ‘हाउस इन्टिम कमिटी’का सदस्यहरूलाई जानकारी गराएका छन्।

राज्यको ‘अफिस अफ इमिग्र्यान्ट एन्ड रिफ्युजी एडभान्स्मेन्ट’का निर्देशक तथा ‘इन्टरएजेन्सी काउन्सिल फर इमिग्र्यान्ट एन्ड रिफ्युजी कोअर्डिनेसन’ का अध्यक्ष जेसिका भेन्चुराका अनुसार यस वर्षको जनवरीदेखि जुलाइसम्म सङ्घीय अधिकारीहरूले ६८२ जनालाई आप्रवासनसम्बन्धी कसुरमा पक्राउ गरेका छन्। जबकि सन् २०२५ को सोही अवधिमा यो संख्या ३४९ मात्र थियो।राष्ट्रपति ट्रम्पले आप्रवासनमा कडाइ गरेपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न र राज्यका निकायहरूबीच समन्वय बढाउन गभर्नर टिना कोटेकले गत जनवरीमा यो काउन्सिल गठन गरेकी थिइन्।

यू.एस. आइसको तथ्यांक उद्धृत गर्दै भेन्चुराले बताएअनुसार ट्रम्पले पुनः पदभार ग्रहण गर्नुअघि सन् २०२४ मा ओरेगनमा केवल ११९ आप्रवासन पक्राउ परेका थिए।

ग्रेसमका डेमोक्रेटिक प्रतिनिधि रिकी रुइजले यी तथ्याङ्कहरूप्रति चिन्ता व्यक्त गर्दै गत वर्षको अन्त्यमा देखिएको भन्दा पनि ठूलो संख्यामा यस शरद ऋतुमा पक्राउ बढ्न सक्ने चेतावनी दिए। उनले आप्रवासीहरूले पक्राउ परेका घटनाहरू रिपोर्ट गर्न र सेवाहरूमा पहुँच पाउन एउटै सम्पर्क बिन्दुको रूपमा काम गर्ने राज्यस्तरीय हेल्पलाइन स्थापना गर्न सुझाव दिए।

रुइजले भने, “यो तथ्याङ्कले ठूलो वृद्धि हुन सक्ने सङ्केत गर्छ। त्यसैले यस्ता परिस्थितिमा नागरिकहरूले सिधै सम्पर्क गरी सहयोग पाउन सकिने २११ जस्तै विशेष हेल्पलाइन बनाउन सकिन्छ कि भनेर हामीले सोच्नुपर्छ।”

जवाफमा भेन्चुराले हाल नागरिकहरूले ‘२११’ सामुदायिक स्रोत हेल्पलाइनमार्फत केही सेवा प्राप्त गर्न सक्ने भए पनि अन्य सहायताका लागि विभिन्न गैरसरकारी तथा सामुदायिक संस्थाहरूमा जोडिनुपर्ने अवस्था रहेको बताइन्। उनले आप्रवासन पक्राउका घटना रिपोर्ट गर्न हाल ‘पोर्टल्यान्ड इमिग्र्यान्ट राइट्स गठबन्धन’ मा सम्पर्क गर्न सकिने उल्लेख गर्दै आप्रवासनसम्बन्धी छुट्टै हेल्पलाइनको विचारलाई आफ्नो टोलीसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्।

गभर्नर कोटेकको कार्यालयले हेल्पलाइन स्थापना वा त्यसका लागि बजेट उपलब्ध गराउने विषयमा सोधिएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिएन। तर, एक सामान्य वक्तव्य जारी गर्दै गभर्नरले ट्रम्प प्रशासनका अनिश्चित नीतिहरूसँग जुध्दै ओरेगनले आफ्ना सामुदायिक साझेदारहरू र आप्रवासी परिवारहरूलाई सकेसम्म सुरक्षा र स्पष्टता प्रदान गर्न निरन्तर काम गर्ने बताइन्।

यसैबीच, पोर्टल्यान्डका प्रतिनिधि लामार वाइजले हालै महान्यायाधिवक्ता ड्यान रेफिल्डसँग भएको टाउन हल बैठकमा पनि आप्रवासन नियन्त्रणको विषय उठेको जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रो समुदायले अझ धेरै सुरक्षा र सहयोगको अपेक्षा गरेको प्रस्ट देखिन्छ,” वाइजले भने, “समन्वय प्रयासहरूलाई अझ सुदृढ र दिगो बनाउन के आवश्यक छ र ओरेगनवासीहरूलाई सुरक्षित राख्न हामी कस्ता रक्षात्मक कदमहरू चाल्न सक्छौँ भन्नेबारे खुला छलफल जारी राख्न चाहन्छौँ।”

राज्यका स्वास्थ्य, शिक्षा, आवास, यातायात र मानव सेवाजस्ता १० वटा प्रमुख निकायका प्रमुखहरू समावेश रहेको यो अन्तर-निकाय काउन्सिलले राज्यको कानुन अनुसार आप्रवासी परिवारहरूले कुनै पनि डरविना आधारभूत सेवाहरू पाइराख्न सकून् भन्ने सुनिश्चित गर्न काम गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com