अमेरिकामा आइसको निगरानी गर्ने नागरिकहरूमाथि दमन: ट्रम्प प्रशासन विरुद्ध मुद्दा दर्ता
प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार
तस्वीर : आइस
अमेरिकाको मिनियापोलिसका बासिन्दा माइकल खलिलीले गत हिउँददेखि आफ्नो शहरमा सङ्घीय अध्यागमन अधिकारीहरूका गतिविधिहरूको निगरानी र अभिलेख राख्दै आएका थिए। गत जनवरीमा अर्का नागरिक पर्यवेक्षक एलेक्स प्रेटीलाई सङ्घीय अध्यागमन अधिकारीहरूले गोली हानी हत्या गरेपछि, सर्वसाधारणले खिचेका भिडियोहरूले नै सरकारी अधिकारीहरूले फैलाएको झूटो दाबीको पर्दाफास गरेका थिए।
तर, सङ्घीय एजेन्टहरूको धम्की, परिवारको दबाब र बढ्दो जोखिमका कारण दुई सन्तानका पिता ४७ वर्षीय खलिलीले हाल यो अनुगमन कार्य रोक्न बाध्य भएका छन्। आइस गाडीहरूको पीछा गर्दा उनलाई सङ्घीय अधिकारीहरूले तस्बिर खिच्ने, धम्क्याउने र आपराधिक मुद्दा लगाउने चेतावनी दिँदै आएका थिए। मार्चमा एक अधिकारीसँगको भिडन्तको भोलिपल्टै उनको ‘ग्लोबल एन्ट्री’ रद्द गरिएको थियो भने मे महिनामा राज्य प्रहरीले उनलाई पछ्याएको आरोपमा मुद्दा हाल्ने धम्की दिएका थिए।
अहिले खलिली नागरिक अधिकार संस्था ‘कमन कज’ सँग मिलेर ट्रम्प प्रशासनका एजेन्सीहरू-डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, जस्टिस डिपार्टमेन्ट, र एफबीआइ विरुद्ध वासिङ्टन डीसीस्थित सङ्घीय अदालतमा मुद्दा दर्ता गराएका छन्। यो मुद्दामा सरकारले नागरिकहरूको पहिलो संशोधन अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकार हनन गरेको आरोप लगाइएको छ।
९४ पाना लामो उक्त फिरादपत्रमा एजेन्टहरूले नागरिकहरूको तस्बिर खिच्ने, घरमै पुगेर धम्क्याउने, पेपर स्प्रे हान्ने, अनुहार चिन्न प्रयोग गरिने ‘फेसियल रिकग्निशन’ प्रविधिको दुरुपयोग गर्ने र यात्रामा प्रतिबन्ध लगाउने जस्ता कार्य गरेर त्रास फैलाएको उल्लेख छ। खलिलीका अनुसार, उनले अनुगमन सुरु गरेपछि प्रहरी र एजेन्सीहरूले उनको सवारी साधन र व्यक्तिगत विवरण ५५ पटकभन्दा बढी खोजी गरेका थिए।
यो मुद्दाले अमेरिकाभरका नागरिक पर्यवेक्षकहरूलाई सङ्घीय निकायको गैरकानुनी प्रतिशोध र दमनबाट जोगाउने र सरकारलाई जवाफदेही बनाउने लक्ष्य राखेको छ।





