ट्रम्प प्रशासनद्वारा एच-१बी भिसा धारकका लागि ६० दिने सहुलियत अवधि समाप्त गर्ने प्रस्ताव
प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार
अमेरिकाको ट्रम्प प्रशासनले एच-१बी भिसामा रहेका दक्ष कामदारसहित केही निश्चित आप्रवासीहरूलाई जागिर गुमेपछि नयाँ स्पोन्सर खोज्न वा देश छोड्ने तयारी गर्न दिइँदै आएको ६० दिनको सहुलियत अवधि समाप्त गर्ने प्रस्ताव गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेकयुरिटीले फेडरल रजिस्टरमा प्रकाशित गरेको उक्त प्रस्तावित नियम लागू भएमा एच-१बी तथा अन्य अस्थायी कार्य भिसामा रहेका व्यक्तिहरूले आफ्नो रोजगारी समाप्त हुनासाथ तुरुन्तै अमेरिका छाड्नुपर्ने हुन्छ।
सन् २०१७ देखि लागू भएको ६० दिने सहुलियत अवधिले विदेशी कामदारहरूलाई अर्को जागिर खोज्न वा घर बिक्री गर्ने र बालबालिकालाई विद्यालयबाट निकाल्ने जस्ता व्यक्तिगत व्यवस्थापनका लागि समय प्रदान गर्दै आएको थियो। युसी डेभिस स्कूल अफ लका प्राध्यापक ग्याब्रिएल चिनका अनुसार, धेरैजसो एच-१बी कामदारहरू लामो समयदेखि अमेरिकामा बस्दै आएकाले यो निर्णयले उनीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ।
यो कदम सन् २०२५ जनवरीमा पुनः सत्तामा आएदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कानुनी आप्रवासनलाई सीमित गर्न चालिएका प्रयासहरूको निरन्तरता हो। यसअघि ट्रम्प प्रशासनले दक्ष कामदारहरूको भिसा शुल्क बढाउनुका साथै विश्वभरका अमेरिकी दूतावासहरूमा आप्रवासी भिसा अन्तर्वार्ताहरू अस्थायी रूपमा स्थगित गरिसकेको छ।डिएचएसले यो परिवर्तनबाट केही कम्पनीहरूलाई असर पर्न सक्ने स्वीकार गरे पनि यी रोजगारीहरू अमेरिकी नागरिकहरूले पाउन सक्ने तर्क गरेको छ।
यदि यो नियम कार्यान्वयन भएमा एच-१बी बाहेक ई-१, ई-२, एल-१, ओवन, टी-एन, एच-१बी-वन र ई-३ भिसा धारकहरू समेत प्रभावित हुनेछन्। विशेष गरी भारत र चीनका दक्ष जनशक्तिमा निर्भर रहने गुगल, टाटा कन्सल्टेन्सी, इन्फोसिस जस्ता ठूला प्रविधि तथा परामर्शदाता कम्पनीहरूलाई यसले ठूलो धक्का पुर्याउनेछ। यो नियम अन्तिम रूपमा लागू हुनुअघि दुई महिनाको सार्वजनिक टिप्पणी अवधिको लागि खुला राखिएको छ।





