अमेरिका प्रवेशमा कडाइसँगै मेक्सिकन सीमामा घटे आप्रवासी, आश्रयस्थलको प्रयोग १५% मा सीमित
प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार
Photo: Levi Meir Clancy/ Unsplash
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीति र व्यापक देश निकाला अभियानपछि अमेरिकातर्फ जाने आप्रवासीहरूको सङ्ख्यामा भारी गिरावट आएको छ। यसका कारण मेक्सिकोको उत्तरी सीमावर्ती शहरहरूमा रहेका आप्रवासी आश्रयस्थलहरू क्रमशः रित्तिँदै गएका छन्।
इक्वेडरकी आप्रवासी सलोमी भिलेना आफ्ना श्रीमान् र दुई साना बालबालिकासहित अमेरिका प्रवेश गर्ने योजनामा थिइन्। तर अमेरिकी अध्यागमन नीतिमा आएको परिवर्तनले उनको योजना बदलियो। अहिले उनको परिवार सिउडाड जुआरेज शहरमै बस्ने निर्णयमा पुगेको छ, जहाँ उनीहरू स्थानीय आश्रयस्थलमा बाँकी रहेका केही व्यक्तिहरूमध्ये पर्छन्।
भिलेनाले कानूनी रूपमा अमेरिका प्रवेश गर्ने बाटोहरू थप कठिन बनेको बताउँदै भनिन्, “हाम्रो इच्छा अमेरिका जाने नै थियो, तर ट्रम्पका नीतिका कारण हामी जान सकेनौं।” मानव तस्करलाई पैसा दिएर सीमा पार गर्ने प्रयास गरे पनि तस्करले पैसा ठग्न थालेपछि उनीहरूले उक्त विचार त्यागेका थिए।
ट्रम्प प्रशासनले सीबीपी वान एपको सेवा बन्द गरिदिएपछि आप्रवासीहरूका लागि अमेरिका प्रवेश गर्ने एउटा मुख्य कानूनी बाटो बन्द भएको छ। उक्त एपमार्फत शरणार्थीहरूले प्रवेश बिन्दुहरूमा अपोइन्टमेन्ट तय गर्ने गर्दथे। यो कदमपछि हजारौँ आप्रवासीहरू सिउडाड जुआरेज जस्ता सीमावर्ती शहरहरूमा अलपत्र परेका थिए।
मेक्सिकन अधिकारीहरूले अमेरिकाबाट फिर्ता पठाइएका मानिसहरूको संख्या ह्वात्तै बढ्ने अनुमान गर्दै आपत्कालीन आश्रयस्थलहरू खोलेका थिए। तर, नयाँ आप्रवासीहरूको आगमन घट्नुका साथै डिपोर्ट गरिएका मानिसहरूलाई सिधै हवाई मार्गबाट दक्षिणी मेक्सिको वा अन्य देशतर्फ पठाइएकाले ती सुविधाहरू प्रायः खाली नै रहे।
सिउडाड जुआरेजको ‘गुड समरिटन’ आश्रयस्थलका प्रमुख जुआन फिएरोका अनुसार ट्रम्पका नीतिहरूले गर्दा नयाँ आप्रवासीहरूको संख्यामा ठूलो कमी आएको छ। मेक्सिकोको उत्तरी सीमासम्म पुग्न र अमेरिका प्रवेश गर्न मानिसहरूका लागि झन्-झन् जटिल बन्दै गएको उनले बताए।
राज्य जनसङ्ख्या परिषद्का डिर्भान गार्सियाका अनुसार यस परिवर्तनले शहरको आप्रवासी जनसङ्ख्याको स्वरूप नै बदलेको छ। पहिले अमेरिका जाने सोच बनाएका धेरै मानिसहरू अहिले यही शहरमा स्थायी रूपमा बस्न थालेका छन्।
गार्सियाका अनुसार बजेट कटौती र आप्रवासीहरूको आगमनमा आएको कमीले गर्दा उनीहरूको सञ्जालमा रहेका आश्रयस्थलहरूको संख्या घटेर १८ मा सीमित भएको छ। हाल ती आश्रयस्थलहरूमा १५ प्रतिशत मात्र मानिसहरू छन्, जसमा अधिकांश हिंसाका कारण विस्थापित भएका मेक्सिकन नागरिकहरू छन्। गैर-मेक्सिकनहरूमा मुख्यतया भेनेजुएला, कोलम्बिया र मध्य अमेरिकाका आप्रवासीहरू रहेका छन्।





