ओहायोका दुवै सिनेटरद्वारा कानुनी हैसियत नभएका आप्रवासीलाई ड्राइभिङ लाइसेन्स दिने नीति बन्द गर्न माग
प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार
Photo: Jake Kling/ Unsplash
उत्तर-पूर्वी ओहायोमा भएको एक कार दुर्घटनामा एक स्थानीय नागरिकको मृत्यु भएपछि ओहायोका दुवै सिनेटरहरूले कागजातविहीन आप्रवासीहरूलाई ड्राइभिङ लाइसेन्स उपलब्ध गराउने नीति तुरुन्त बन्द गर्न माग गरेका छन्।
सिनेटर जोन हस्टेडले यातायात मन्त्री सन डफी र होम्ल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनलाई पत्र लेख्दै भनेका छन्, “विभिन्न राज्य सरकारहरूले अघि सारेका यस्ता ‘ड्राइभ-ओन्ली’ नीतिहरू निर्णयको कमजोरी मात्र होइनन्; यी त असफल आप्रवासन नीतिको निरन्तरता हुन् जसले अमेरिकी नागरिकहरूलाई जोखिममा पारेका छन्।”
सिनेटर हस्टेड र अर्का सिनेटर बर्नी मोरेनोले कानुनी हैसियत नभएका आप्रवासीहरूलाई ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया अन्त्य गर्न जोड दिएका छन्। ओहायो ‘ब्यूरो अफ मोटर भेइकल्स’ ले कुनै पनि सवारी कागजात जारी गर्नुअघि अमेरिकामा कानुनी उपस्थिति पुष्टि हुनुपर्ने व्यवस्था गरेको छ। तर, अमेरिकाका १९ राज्यहरू र वासिङ्टन डी.सी. मा भने कानुनी हैसियत नभएकाहरूलाई पनि ‘ड्राइभ-ओन्ली’ लाइसेन्स दिने प्रावधान रहेको छ।
गत अगस्ट २९ मा फुल्टन काउन्टीमा वासिङ्टन जी. नौला-ओचोआ (३४) ले ‘स्टप’ साइनमा गाडी नरोक्दा भएको दुर्घटनापछि यी सिनेटरहरूले यो विषय सार्वजनिक रूपमा उठाएका हुन्। ओहायो स्टेट हाइवे पेट्रोलका अनुसार नौला-ओचोआको गाडीले अर्को गाडीलाई टक्कर दिँदा दुई जना घाइते भएका थिए भने फेयेट काउन्टीका २९ वर्षीय अस्टिन ग्रिम्सको मृत्यु भएको थियो।
अदालतको अभिलेख अनुसार नौला-ओचोआले सवारी ज्यान र ट्राफिक नियम उल्लङ्घनको मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्। उनी अहिले ‘करेक्टन्स सेन्टर अफ नर्थवेस्ट ओहायो’ को हिरासतमा छन् र आइसले उनलाई आफ्नो नियन्त्रणमा लिन हिरासतमा राख्न अनुरोध गरेको छ।
सिनेटर मोरेनोका अनुसार नौला-ओचोआले कनेक्टिकट राज्यबाट ‘ड्राइभ-ओन्ली’ लाइसेन्स प्राप्त गरेका थिए। मोरेनोले मङ्गलबार कनेक्टिकटका गभर्नर नेड लामोन्टलाई पत्र लेख्दै राज्यको नीतिकै कारण ग्रिम्सको मृत्यु भएको दाबी गरे। “कनेक्टिकटले गैरकानुनी आप्रवासीलाई ड्राइभिङ लाइसेन्स लिन अनुमति मात्र दिँदैन, प्रोत्साहन पनि गर्छ; र यसको मूल्य अमेरिकीहरूले आफ्नो ज्यान दिएर चुकाइरहेका छन्,” मोरेनोले लेखेका छन्, “तपाईंका नीतिहरूले मेरो क्षेत्रका बासिन्दाहरूको ज्यान लिइरहेका छन्।”
यद्यपि, यस्ता नीति लागू गर्ने राज्यहरूले भने सडक सुरक्षा बढाउन यो कदम चालिएको दाबी गर्छन्। ‘न्याशनल इमिग्रेशन ल सेन्टर’ का अनुसार आप्रवासीहरूले ड्राइभिङ लाइसेन्स नपाउँदा आवश्यक तालिम र बीमाविना गाडी चलाउने जोखिम बढ्छ। उदाहरणका लागि, इलिनोय राज्यमा २०२४ देखि कागजातविहीन आप्रवासीहरूलाई परिचयपत्र, बसोबासको प्रमाण र मान्य बीमाको आधारमा लाइसेन्स आवेदन दिने व्यवस्था गरिएको छ।
सिनेटर मोरेनोले गभर्नर लामोन्टसँग कनेक्टिकटमा कति जनालाई ‘ड्राइभ-ओन्ली’ लाइसेन्स जारी गरिएको छ, तिनमा कति जना अपराधमा संलग्न छन् वा मतदाता नामावलीमा दर्ता भएका छन् र यो नीतिमा कति करदाताको रकम खर्च भएको छ भन्ने तथ्याङ्क माग गरेका छन्। त्यस्तै, सिनेटर हस्टेडले यातायात र होम्ल्यान्ड सेक्युरिटी मन्त्रालयलाई ‘ड्राइभ-ओन्ली’ नीतिका विरुद्ध चाँडो र कडा कदम चाल्न आग्रह गरेका छन्।





