अमेरिकाको हिरासत केन्द्रमा भोक हडतालमा रहेका व्यक्तिलाई शल्यक्रियामार्फत खाना खुवाउन सङ्घीय न्यायाधीशको स्वीकृति
प्रकाशित मिति : २० भदौ २०८३, शनिबार
तस्वीर : आइस
टेक्सासस्थित एक हिरासत केन्द्रमा भोक हडतालमा बसेका क्युबाली नागरिकलाई जबर्जस्ती खाना खुवाउन अमेरिकी सङ्घीय अध्यागमन अधिकारीहरूले अदालतबाट अनुमति पाएका छन्। हालै सार्वजनिक भएका अदालती कागजातहरू अनुसार, न्यायाधीशले नाकबाट नली हालेर मात्र नभई, गैर-सहमतिपूर्ण शल्यक्रिया मार्फत सिधै पेटमा नली राखेर खाना खुवाउनेसमेत अनुमति दिएका हुन्।
सन् २०२५ को जनवरीदेखि यता आइसले नियन्त्रणमा रहेका व्यक्तिहरूमाथि अमानवीय मानिने यस्ता “अनिच्छुक चिकित्सा प्रक्रियाहरू” प्रयोग गर्न अनुमति पाएको यो १९ औँ मामला हो। ह्युस्टन नजिकै रहेको ‘मोन्टगोमेरी आइस प्रोसेसिङ सेन्टर’ मा थुनामा रहेका ती व्यक्तिमाथि अगस्ट महिनामा नाकको नलीमार्फत जबर्जस्ती खाना खुवाइएको थियो। हालै अदालतले उक्त आदेशको अवधि लम्ब्याउँदै आवश्यक परेमा पेटमा शल्यक्रिया गरी नली राख्न सक्ने अधिकार पनि दिएको छ।
मानवाधिकार सङ्गठनहरू र नागरिक अधिकार वकीलहरूले यस कदमको कडा शब्दमा भर्त्सना गरेका छन्। ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’का अनुसार, प्रदर्शनकारीको शरीरमा जबरजस्ती शल्यक्रिया गरेर नली राख्नु अति नै क्रूर र अमानवीय कार्य हो। धेरैजसो अवस्थामा हिरासत भित्रको खराब अवस्था र यातनाको विरोध गर्न थुनामा रहेका व्यक्तिहरू भोक हडतालमा बस्ने गर्दछन्।
यसैबीच, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने ती व्यक्तिले पुनः खाना र पानी खान सुरु गरिसकेको र अहिले जबर्जस्ती खाना नखुवाइएको दाबी गरेको छ। यद्यपि, ती क्युबाली नागरिकको तर्फबाट कुनै कानुनी प्रतिनिधि उपस्थित नरहेको र यस्ता धेरैजसो मुद्दाहरू गोप्य राखिएकाले निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको छ।





