झूटो बयान दिएको आरोप लागेका सङ्घीय अध्यागमन अधिकारी कास्ट्रोद्वारा आत्मसमर्पण
प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार
तस्बिर: आइस
मिनियापोलिसमा सञ्चालित अध्यागमन नियन्त्रण अभियानका क्रममा एक भेनेजुएलाली नागरिकलाई गोली हानिएको घटनाबारे अनुसन्धानकर्ताहरूसँग झूटो बयान दिएको आरोपमा ५२ वर्षीय सङ्घीय अध्यागमन अधिकारी क्रिस्टियन कास्ट्रो सङ्घीय नियन्त्रणमा परेका छन्।
जनवरी २०२६ मा जुलिओ सेसर सोसा-सेलिसमाथि भएको गोली प्रहारको अनुसन्धानका क्रममा गलत जानकारी दिएको पुष्टि भएपछि उनीमाथि यो सङ्घीय कारबाही चलाइएको हो। ट्रम्प प्रशासनको समयमा सञ्चालित ‘अपरेसन मेट्रो सर्ज’ का क्रममा गैरकानुनी काम गरेको आरोपमा औपचारिक कारबाही भोग्ने कास्ट्रो नै पहिलो सङ्घीय अध्यागमन अधिकारी हुन्।
सुरुवाती चरणमा अधिकारीहरूले सोसा-सेलिस र उनका साथीले कुचोको डाँठ र हिउँ पन्छाउने साबेलले आक्रमण गरेको दाबी गर्दै मुद्दा चलाएका थिए। तर, पछि प्राप्त भिडियो प्रमाणले अधिकारीहरूले नै घटनाबारे झूट बोलेको देखाएपछि पीडितहरू विरुद्धको मुद्दा फिर्ता लिई अनुसन्धानको सुइ स्वयम् अधिकारीतर्फ मोडिएको थियो।
यसैबीच, यो प्रकरणले दुई अमरीकी राज्यहरूबीच पनि गम्भीर विवाद सिर्जना गरेको छ। मिनिसोटा राज्यले कास्ट्रोमाथि ज्यान मार्ने उद्योग र झूटो प्रतिवेदन तयार पारेको अभियोगमा सुपूर्दगी गर्न खोजेको भए पनि टेक्सासका गभर्नरले सुपूर्दगी प्रकृयामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। जसका कारण कास्ट्रो अघिल्लो हप्ता जेलमुक्त भएका थिए, तर अन्ततः उनले सङ्घीय अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका छन्।





