अन्तर्राष्ट्रिय पर्यटक घट्न थालेपछि राष्ट्रपति ट्रम्पद्वारा प्रमुख ट्राभल कम्पनीका कार्यकारीहरूसँग छलफल
प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस
अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा आएको गिरावटलाई रोक्ने र पर्यटक वृद्धि गर्ने उपायहरूबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका प्रमुख ट्राभल तथा पर्यटन कम्पनीका कार्यकारीहरूसँग छलफल गरेका छन्।
बुधबार आयोजित उक्त बैठकमा अमेरिकन एयरलाइन्स, म्यारियट, एमजीएम रिसोर्ट्स, कार्निभल, सिजर्स इन्टरटेनमेन्ट, हार्ड रक इन्टरनेसनल, र आइएचजी होटल्स एन्ड रिसोर्ट्स जस्ता दिग्गज कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।
यस वर्षको गृष्मऋतुमा आयोजित ‘फिफा विश्वकप’का कारण अमेरिकी पर्यटन क्षेत्रले ठूलो तर अस्थायी प्रोत्साहन पाएको थियो। विश्वकप अवधिमा जुन महिनामा भ्रमण खर्च अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले बढेर १२२.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन एक वर्षयताकै उच्च मासिक सङ्कलन हो। फिफाका अनुसार यस वर्षको प्रतियोगितामा इतिहासकै सर्वाधिक दर्शक उपस्थिति रहेको थियो।
बैठकमा राष्ट्रपति ट्रम्पले फिफा विश्वकपले आयोजक शहरहरूको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएको बताए। उनले भने, “अमेरिकी आकाश विमानहरूले भरिएका थिए र ती विमानमा थुप्रै खुसी यात्रुहरू सवार थिए।”
युएस ट्राभल एसोसिएसनका अध्यक्ष जेफ फ्रिम्यानले अमेरिकामा वार्षिक विदेशी पर्यटकको संख्या १० करोड पुर्याउने लक्ष्य राखिएको जानकारी दिए। सन् २०२५ मा ६ करोड ८० लाख पर्यटकले अमेरिका भ्रमण गरेका थिए, जुन सन् २०२४ को तुलनामा ५.५ प्रतिशतले कम थियो।
विश्वकपको प्रभावका बाबजुद वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२६ को जुलाईसम्ममा विदेशी पर्यटकको आगमनमा थप ४.७ प्रतिशतले कमी आएको छ। फ्रिम्यानले भने, “हामी अमेरिकालाई विश्वकै सबैभन्दा बढी भ्रमण गरिने गन्तव्य बनाउन चाहन्छौँ, जुन स्थानमा अहिले फ्रान्स रहेको छ।” (फ्रान्समा सन् २०२५ मा १० करोड २० लाख विदेशी पर्यटक पुगेका थिए।)
पर्यटन व्यवसायीहरूका अनुसार भिसा अन्तर्वार्तामा लाग्ने लामो समय, हवाई भाडामा भएको वृद्धि, कडा कूटनीतिक तथा अध्यागमन नीति, भन्सार शुल्क, र केही देशहरूमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण पर्यटकको संख्या घटेको हो। विशेष गरी, ५० वटा देशका आगन्तुकका लागि ट्रम्प प्रशासनले लागू गरेको ‘बन्ड’ प्रणालीका कारण ती देशहरूबाट हुने आगमनमा ८० प्रतिशतले गिरावट आएको फ्रिम्यानले बताए।
यसैगरी, ट्रम्पको भन्सार नीति र सीमासम्बन्धी अभिव्यक्तिका कारण गत वर्ष क्यानाडाबाट आउने पर्यटकको संख्या २० प्रतिशतले घटेको थियो, जसको प्रत्यक्ष असर लास भेगास र सीमावर्ती राज्यहरूमा परेको छ।
समस्याहरूका बाबजुद ह्वाइट हाउसले विमानस्थलको सुरक्षा जाँचलाई सहज बनाइएको जनाएको छ। अमेरिकी नागरिकका लागि बायोमेट्रिक फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय उडानहरूलाई आन्तरिक उडानसँग जोड्ने प्रक्रियालाई अझ द्रुत बनाउने लक्ष्य राखिएको छ।





