अमेरिका-मेक्सिको सीमा मरुभूमिमा बालबालिकासहित १९ आप्रवासी मृत फेला


प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार

Photo: Dug Nichols/ Unsplash

गत महिना अमेरिका-मेक्सिको सीमा नजिकैको एरिजोना मरुभूमिमा बालबालिकासहित १९ जना मृत आप्रवासीका अवशेषहरू भेटिएका छन्। पिमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालय र अधिकारवादी संस्था ‘ह्युमेन बोर्डर्स’ को तथ्याङ्कअनुसार यो दुई वर्षयताकै उच्च सङ्ख्या हो।

फेला परेका शवहरूमध्ये पाँच जनाको मृत्यु भएको एक दिनभन्दा कम र दुई जनाको मृत्यु भएको एक हप्ताभन्दा कम समय भएको पाइएको थियो।

युएस डेभिस ग्लोबल माइग्रेसन सेन्टरका राजनीतिशास्त्रका प्राध्यापक तथा ह्युमेन बोर्डर्सका बोर्ड सदस्य ब्राड जोन्सका अनुसार, यो निरन्तर र सधैंभरि भइरहने समस्या हो, यो जुलाई २०२६ को मात्र समस्या होइन।

यो कहिले घट्छ त कहिले बढ्छ, तर यो कहिल्यै रोकिँदैन,” जोन्सका अनुसार सन् २००० मा ह्युमेन बोर्डर्स स्थापना भएयता कहिल्यै पनि मानव अवशेष नभेटिएको कुनै समय नै छैन।

डोनाल्ड ट्रम्पले पद सम्हालेपछि शरणार्थी दाबीहरूलाई प्रभावकारी रूपमा बन्द गर्ने र दक्षिणी सीमामा प्रवेश कडाइ गर्नेलगायतका अध्यागमन नीतिहरू लागू गरेपछि सीमा पार गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। यस्तो अवस्थामा पनि यति ठूलो सङ्ख्यामा शवहरू भेटिनु निकै चिन्ताजनक छ, जुन वास्तविक सङ्ख्याभन्दा कम हुन सक्ने अनुमान गरिएको छ।

जो बाइडेन प्रशासनको अन्तिम पूर्ण वर्ष जुलाई २०२४ को तुलनामा जुलाई २०२६ मा सीमा गस्ती अधिकारीहरू र आप्रवासीहरूबीचको जम्काभेट करिब १० गुणा कम भएको थियो।

अमेरिकाले लामो समयदेखि निरुत्साहनमार्फत रोकथामको रणनीति अपनाउँदै आएको छ। यसअन्तर्गत मुख्य प्रवेश बिन्दुहरूमा पर्खाल र काँडेतार जस्ता सैन्य स्तरका सुरक्षा पूर्वाधारहरू प्रयोग गरी आप्रवासीहरूलाई दुर्गम तथा जोखिमपूर्ण क्षेत्रतर्फ धकेलिन्छ, ताकि यात्राको खतराले गर्दा उनीहरूलाई भविष्यमा आउनबाट रोक्न सकियोस्।

तर आलोचकहरू भने गैरकानुनी अध्यागमन जीवन-मरणको बाध्यताले हुने भएकाले जस्तोसुकै पर्खाल वा बाधा भए पनि आप्रवासीहरूले यात्रा जारी राख्ने तर्क गर्छन्। यसले गर्दा पहिले नै जोखिममा परेका मानिसहरू सीमावर्ती पहाड, नदी र मरुभूमिहरूमा घाइते हुने र ज्यान गुमाउने अवस्था सिर्जना हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले कंग्रेसबाट प्राप्त ४६ अर्ब डलरको बजेट सहयोगमा सीमा पर्खाल निर्माणलाई निरन्तरता दिएको छ, जुन बाइडेन प्रशासनको समयमा धेरैजसो रोकिएको थियो।

स्थानीय आदिवासी समुदाय, वातावरणविद् र पार्क संरक्षणकर्ताहरूको विरोधका बाबजुद एरिजोना, न्यू मेक्सिको र टेक्सासभर सीमा निर्माण कार्य जारी छ। बिग बेन्ड नेशनल पार्कजस्तो अवैध घुसपैठ कम हुने शान्त क्षेत्रमा पनि नयाँ सुरक्षा पूर्वाधार बनाउने योजनाप्रति उनीहरू विशेष रूपमा आक्रोशित छन्।

भौतिक अवरोधहरू थप्नुका साथै ट्रम्प प्रशासनले सीमा क्षेत्रको कानुनी व्यवस्थामा पनि व्यापक फेरबदल गर्न खोजेको छ।

ह्वाइट हाउसले अमेरिकामा हुने आप्रवासनलाई “आक्रमण” को रूपमा व्याख्या गर्दै, गैरकानुनी रूपमा सीमा पार गर्नेहरूलाई शरण माग्ने अवसर नै नदिई निष्कासन गर्ने अधिकार सरकारसँग रहेको दाबी गरेको छ। यद्यपि, शरण माग्न पाउने अधिकार अमेरिकी र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनद्वारा सुरक्षित छ। तल्लो अदालतहरूले सरकारको यो नीतिमा रोक लगाएका छन्, तर ट्रम्प प्रशासनले यसबारे सर्वोच्च अदालतमा अपिल गर्ने तयारी गरिरहेको छ।

यसैगरी, प्रशासनले विभिन्न देशका मानिसहरूलाई दिँदै आएको ‘अस्थायी संरक्षित स्थिति’  अधिकार पनि रद्द गरिदिएको छ, जसले अस्थिर क्षेत्रबाट आएका हजारौँ आप्रवासीहरूलाई देश निकाला हुनबाट जोगाएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com