राजनीतिक अभिव्यक्तिकै आधारमा गैर-नागरिक निष्कासन गर्न नमिल्ने अमेरिकी अदालतको फैसला
प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार
Photo: Sasun Bughdaryan/Unsplash
एक अमेरिकी संघीय न्यायाधीशले राजनीतिक अभिव्यक्तिका आधारमा गैर-नागरिकहरूलाई देश निकाला गर्ने ट्रम्प प्रशासनको नीति अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनविपरीत भएको फैसला सुनाएकी छन्।
क्यालिफोर्नियाको उत्तरी जिल्लाकी न्यायाधीश नोएल वाइजले ‘स्ट्यानफोर्ड डेली’ नामक विद्यार्थी अखबारको पक्षमा फैसला गर्दै यो निर्णय दिएकी हुन्। उक्त अखबारले विदेशमन्त्री मार्को रुबियोविरुद्ध मुद्दा दायर गर्दै सरकारको नीतिका कारण विदेशी विद्यार्थीहरू प्रशासनको आलोचनात्मक विचार लेख्न डराएको दाबी गरेको थियो।
न्यायाधीश वाइजले आफ्नो फैसलामा लेखेकी छन्, “अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता जनताको अधिकार हो, यो सरकारले खोस्न पाउने वस्तु होइन।”
यस मुद्दामा अर्की एक अज्ञात विदेशी महिला पनि वादी थिइन्, जसले इजरायल-प्यालेस्टाइन द्वन्द्वबारे आफ्नो विचार व्यक्त गर्दा प्रतिशोधको डरले आफ्नो सामाजिक सञ्जाल खाता नै हटाएकी थिइन्। न्यायाधीश वाइजले थपिन्, “हाम्रो देशमा कसैको विचार मन नपरे पनि उसले व्यक्त गर्न पाउने स्वतन्त्रताको रक्षा गर्नु नै हाम्रो देशको शक्ति हो।
यस फैसलाबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भीसा अधिकार नभई एउटा विशेषाधिकार भएको र राष्ट्रिय सुरक्षाको रक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
यो फैसला इजरायल-प्यालेस्टाइन आन्दोलनमा संलग्न विदेशी विद्यार्थीहरूको भीसा रद्द गरी देश निकाला गर्ने अभियानपछि आएको हो। वादी पक्षका वकील कोनोर फिट्जप्याट्रिकले भने, आजको फैसलाले अभिव्यक्ति स्वतन्त्रता कुनै विशेषाधिकार नभई प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो भन्ने पुष्टि गरेको छ।





