अमेरिकामा नक्कली ग्रिन कार्ड राखेको अभियोगमा दुई विदेशी नागरिक दोषी ठहर
प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार
Photo: Sasun Bughdaryan/Unsplash
अमेरिकाको क्यान्सस सिटीमा नक्कली अध्यागमन कागजात राखेको अभियोगमा दुई जना विदेशी नागरिकले अदालतमा आफ्नो दोष स्वीकार गरेका छन्। उनीहरूले अन्य व्यक्तिको नाममा जारी भएका विवरण प्रयोग गरी बनाइएका नक्कली कागजात राखेको पुष्टि भएको हो।
अदालतको कागजात अनुसार ग्वाटेमालाका ३८ वर्षीय सन्तोष रामिरेज-रामिरेज र मेक्सिकोकी ३२ वर्षीया योलान्डा मेन्डोजा-एमिलियानोले भिसा, अनुमतिपत्र तथा अन्य कागजातको दुरुपयोग र किर्ते गरेको सम्बन्धी मुद्दामा दोष स्वीकार गरेका हुन्।
गत मे २८, २०२६ मा ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’ ले क्यान्ससको साउथ १६थ स्ट्रिटस्थित एक घरमा छापा मारेको थियो। अनुसन्धान अधिकारीहरूले स्पेनिस भाषामा घरबाहिर आउन बारम्बार दिएको आदेश पालना नगरेपछि टोली पछाडिको ढोकाबाट भित्र छिरेको थियो।
उक्त घरबाट उनीहरूको नाम र तस्बिर भएका तर अरूकै एलियन फाइल नम्बर र अवैध सामाजिक सुरक्षा नम्बर राखिएका नक्कली ‘ग्रिन कार्ड’ तथा ‘सोसल सेक्युरिटी कार्ड’ बरामद भएपछि दुवै जनालाई गिरफ्तार गरिएको थियो।
अमेरिकाका सरकारी वकील रायन ए. क्रिगशाउजरका अनुसार यस्ता नक्कली कागजातका कारण निर्दोष व्यक्तिहरू आर्थिक तथा कानुनी झन्झटमा पर्ने गर्छन्। त्यसैगरी, एचएसआईका विशेष एजेन्ट इन्चार्ज रिक साबाटिनीले अध्यागमन प्रणालीलाई हानी पुर्याउने र गैरकानुनी रूपमा बसोबास गराउने यस्ता गिरोहविरुद्ध कडा कारबाही जारी रहने बताएका छन्।
अभिलेख अनुसार मेन्डोजा-एमिलियानोलाई अप्रिल २०२४ मा अमेरिका-मेक्सिको सीमानामा १० दिनभित्र चार पटक गैरकानुनी प्रवेश गर्दा पक्राउ गरी मेक्सिको फिर्ता पठाइएको थियो। यस केसमा जोडिएका अन्य चार जनामध्ये एक जनामाथि झुटा कागजात र बाँकी तीन जनामाथि डिपोर्ट पछि पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको अभियोगमा मुद्दा चलिरहेको छ।





