सुपरमार्केटमै आइस चेकिङ राखेर आप्रवासी धपाउनुपर्छ भन्ने बेलायती टिप्पणीकार आफैं पक्राउ
प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार
तस्वीर : आइस
अपरिचित वा अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई तत्काल देश निकाला गर्नका लागि अमेरिकाका सुपरमार्केटहरूमै ‘आइस’ चेकिङ राखिनुपर्छ भन्ने बेलायती अति-दक्षिणपन्थी टिप्पणीकार माइलो यानोपुलस आफैं अमेरिकी अध्यागमन अधिकारीहरूबाट पक्राउ परेका छन्।
४१ वर्षीय यानोपुलसलाई बिहीबार ‘लुइस आर्मस्ट्रङ न्यू अर्लिन्स अन्तर्राष्ट्रिय विमानस्थल’बाट नियन्त्रणमा लिइएको हो। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जारी गरेको विज्ञप्ति अनुसार उनलाई “संयुक्त अधिराज्यबाट आएका कागजातविहीन विदेशी” भन्दै देश निकालाको आदेश दिइएको छ।
होमल्यान्ड सेक्युरिटीका अनुसार यानोपुलस मे २०१९ मा न्युयोर्क शहर हुँदै वैध रूपमा अमेरिका प्रवेश गरेका थिए, तर पछि भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसोबास गर्दै आएका थिए। जुलाई २२ मा अध्यागमन अदालतको सुनुवाइमा उपस्थित नभएपछि न्यायाधीशले उनलाई देश निकाला गर्ने अन्तिम आदेश जारी गरेका थिए। हाल उनलाई डिपोर्ट नभएसम्मका लागि अध्यागमन नियन्त्रणमा राखिएको छ।
टीएमजेडका अनुसार संगीतकार कान्ये वेस्टसँग निकट मानिने यानोपुलस न्यू अर्लिन्समा आयोजना हुन लागेको वेस्टको सांगीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका थिए।
आफ्ना कट्टरपन्थी र आप्रवासी विरोधी अभिव्यक्तिहरूका कारण चर्चामा रहने यानोपुलसको यो पक्राउलाई धेरैले व्यङ्ग्यात्मक घटनाका रूपमा हेरेका छन्। गत जुन २०२५ मा सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले क्यालिफोर्नियाका सुपरमार्केट, ग्यास स्टेशन र सरकारी कार्यालयहरूमा अध्यागमन टोली खटाएर कानुनी कागजात नभएकाहरूलाई तुरुन्तै देश निकाला गरिनुपर्छ भनेका थिए।
सन् २०१४ मा दक्षिणपन्थी मिडिया ‘ब्राइटबार्ट न्युज’बाट पत्रकारिता सुरु गरेका उनी भिडियो गेम उद्योगमा महिलाहरू लक्षित “गेमरगेट”अभियानका कारण विवादमा आएका थिए।





