नेपालमा आएको विनाशकारी बाढीपछि ६५ अमेरिकी नागरिक अझै बेपत्ता


प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार

रमेश शर्मा र नीलम शर्मा दुवै अमेरिकी नागरिक हुन्। नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीपछि उनीहरू सम्पर्कविहीन भएको परिवारले जनाएको छ। यो तस्बिर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिइएको हो। (तस्बिर: डा. राधिका शर्माको सौजन्य)

रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कम्तीमा ६५ जना अमेरिकी नागरिक अझै बेपत्ता रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढी र त्यसपछिको विपत्तिमा विदेशी तथा नेपाली गरी ६४४ जना अझै सम्पर्कविहीन छन्। बेपत्ता विदेशी नागरिकमध्ये भारतका नागरिकको संख्या सबैभन्दा धेरै १७८ रहेको छ। यस्तै, १२७ नेपाली पनि बेपत्ता छन्।

बाढीबाट प्रभावित विदेशी नागरिकमध्ये ५३ जना युक्रेनी, ३५ जना अस्ट्रेलियाली र ३३ जना बेलायती नागरिक पनि बेपत्ता रहेको नेपाल प्रहरीको विवरणमा उल्लेख छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको त्रिशूली बजार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

यसैबीच, राधिका शर्माले आफ्ना आमाबुबा रमेश शर्मा, ६५, र नीलम शर्मा, ६४, बाढीपछि सम्पर्कमा नआएको बताएकी छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार नेपाल–तिब्बत/चीन सीमाक्षेत्रमा आएको बाढीपछि उनीहरूलाई खोजी गरिए पनि फेला पार्न सकिएको छैन।

शर्माका अनुसार उनका दुवै आमाबुबा अमेरिकी नागरिक हुन्। उनले अर्को सामाजिक सञ्जाल पोस्टमार्फत नेपाल, तिब्बतको केरुङ, स्थानीय अस्पताल, उद्धार टोली, सरकारी निकाय वा सञ्चारमाध्यमसँग सम्पर्कमा रहेका व्यक्तिहरूलाई उनीहरूबारे कुनै जानकारी भए उपलब्ध गराउन अपिल गरेकी छन्।

नेपयोर्कले शर्मासँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विवरणलाई नेपयोर्कले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

नेपाल प्रहरीको पछिल्लो बुलेटिन अनुसार बाढी तथा विपत्तिका कारण विभिन्न जिल्लामा मृत्यु हुनेको पुष्टि भएको संख्या ३८९ पुगेको छ।

सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ, जहाँ १३७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोट र तनहुँमा २८–२८, नवलपरासी पश्चिममा २७ तथा रसुवामा १७ जनाको मृत्यु पुष्टि भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले ८ हजार ३४८ जना प्रहरी उद्धार तथा खोजी अभियानमा परिचालन गरिएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका २८ जना अधिकारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ।

नेपाल प्रहरीका अनुसार प्रभावित जिल्लाहरूमा ४६६ जनाको उद्धार गरिएको वा घाइते अवस्थामा उपचार गरिएको छ। तीमध्ये रसुवामा २८९, नुवाकोटमा ९०, काठमाडौंमा ८४ र धादिङमा तीन जना रहेका छन्।

उद्धारकर्मीहरूले क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधार र अवरुद्ध सञ्चार सेवाबीच खोजी तथा उद्धार कार्य जारी राखिरहेका छन्। विपत्तिको अवस्था र सञ्चार सम्पर्कमा आएको अवरोधका कारण बेपत्ता व्यक्तिहरूको खोजीमा थप चुनौती देखिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरूले भने बेपत्ता अमेरिकी नागरिकहरूको पहिचान सार्वजनिक गरेका छैनन्। आपत्कालीन उद्धार तथा खोजी कार्य जारी रहेकाले उनीहरूको अवस्थाबारे थप आधिकारिक विवरण आउन बाँकी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com