भोटेकोशी बाढी : ६२ नेपाली र ४७ अमेरिकीसहित ४०३ पर्यटक सम्पर्कविहीन
प्रकाशित मिति : १० भदौ २०८३, बुधबार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको त्रिशूली बजार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक तथा यात्रुको सङ्ख्या ४०३ पुगेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन हुनेहरूमा ३४१ जना विदेशी र ६२ जना नेपाली नागरिक रहेका छन् ।
सम्पर्कविहीन भएका ४०३ जनामध्ये २०३ पुरुष र २०० महिला रहेका छन् ।
बाढीका कारण सम्पर्कविहीन भएका विदेशी नागरिकहरूमध्ये सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । बोर्डका अनुसार अनुसार भारतका १३३, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना रहेका छन् ।
त्यसै गरी युक्रेनका ७, सिंगापुर र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्युजिल्यान्डका ५-५ जना, जर्मनीका ४, फ्रान्सका ३ तथा आयरल्यान्ड, नेदरल्यान्ड्स र स्पेनका २-२ जना पर्यटक बेपत्ता सूचीमा छन्। यस्तै बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका १-१ जना नागरिक पनि सम्पर्कविहीन भएका छन् ।
पर्यटन बोर्ड, स्थानीय प्रशासन, पर्यटक प्रहरी र सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउनुका साथै तथ्याङ्कको प्रमाणीकरण जारी राखेका छन् । बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूलाई संयमित रहन, आधिकारिक सूचनाको मात्र पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेको छ ।





