सङ्घीय न्यायाधीशहरूको आलोचना गरेपछि ट्रम्प प्रशासनका अधिवक्ताविरुद्ध फ्लोरिडा बारमा उजुरी


प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका मुख्य अधिवक्ता जेम्स पर्सिवलले सङ्घीय न्यायाधीशहरू र तिनका फैसलामाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै “वोर्स्ट अफ द वोर्स्ट” सूची सार्वजनिक गरेपछि उनिविरुद्ध ‘फ्लोरिडा बार’ मा आचारसंहिता उल्लङ्घनको उजुरी दर्ता भएको छ।

पर्सिवलले ट्रम्प प्रशासनको अध्यागमन नीतिविरुद्ध फैसला सुनाउने न्यायाधीशहरूको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। करिब १३० जना पूर्व सङ्घीय तथा राज्य स्तरका न्यायाधीशहरूको समूहले दर्ता गराएको उक्त उजुरीमा पर्सिवलले फ्लोरिडा बारको व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको उल्लेख छ। फ्लोरिडा बारको नियम अनुसार कुनै पनि वकिलले न्यायाधीशको निष्ठा वा योग्यतामाथि बिना आधार गलत वा भ्रामक आरोप लगाउन पाउँदैनन्।

उजुरी मुख्यतया पर्सिवलले जुलाई महिनामा चार जना सङ्घीय न्यायाधीशहरूलाई लक्षित गरी गरेको पोस्टमा केन्द्रित छ। पूर्व न्यायाधीशहरूले उजुरीमा लेखेका छन्, “पर्सिवलको जुलाई २३ को पोस्ट तथ्यमा आधारित वस्तुनिष्ठ आलोचना थिएन, बरु मुद्दाहरूको गलत व्याख्या गर्दै न्यायाधीशहरूको चरित्र हत्या गर्ने प्रयास थियो”। पर्सिवलले न्यायाधीशहरूलाई “सबैभन्दा खराब”, “नाङ्गो राजनीतिमा लागेका” र “न्यायिक तोडफोड” मा संलग्न भएको आरोप लगाउनुभएको थियो।

विशेष गरी, अमेरिकी जिल्ला न्यायाधीश म्याथ्यु केनेलीले अस्थायी संरक्षित दर्जा कार्यक्रम सम्बन्धी एक निर्णयमा दिएको आदेशलाई पर्सिवलले “न्यायिक तोडफोड” भनेका थिए। पूर्व न्यायाधीशहरूले भने केनेलीले सामान्य कानुनी प्रक्रिया बमोजिम नै दुवै पक्षको बहस सुन्नका लागि समय दिएको र त्यसमा तोडफोडको कुनै आधार नरहेको प्रष्ट पारेका छन्।

उक्त आलोचनाको जवाफमा पर्सिवलले सामाजिक सञ्जालमा आफ्नो बचाउ गर्दै आफूलाई मौन बनाउन खोजिएको दाबी गरेका छन्। उनले उजुरीकर्ता पूर्व मुख्य न्यायाधीश पेगी क्विन्सको नाममा “जस्टिस पेगी क्विन्स लाइफटाइम अचीभमेन्ट अवार्ड फर वोर्स्ट अफ द वोर्स्ट जजिङ” सुरु गर्ने भन्दै व्यंग्यात्मक टिप्पणी समेत गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com