एआईको दुरुपयोग गरी अमेरिकामा आप्रवासी ठग्ने गिरोह सक्रिय: वकिलको ‘फेक भिडियो’ बनाएर लाखौँको ठगी


प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार

Photo: Towfiqu barbhuiya /Unsplash

नक्कली कागजात र आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग गरी अमेरिकामा बसोबास गर्ने आप्रवासीहरूलाई ठगी गर्ने एउटा गिरोह सक्रिय भएको पाइएको छ। सामाजिक सञ्जालमा नाम चलेका अधिवक्ताहरूको ‘एआई-जेनेरेटेड’ भिडियो बनाएर लाखौँ डलर ठगी भइरहेको घटना बाहिर आएको हो।

डोमिनिकन रिपब्लिकबाट अमेरिका आई विगत एक दशकभन्दा लामो समयदेखि न्युयोर्कको ब्रोन्क्समा बसोबास गर्दै आएका भिक्टर हर्नान्डेज यस ठगी धन्दाको शिकार बनेका छन्। अमेरिकी नागरिकता लिने सपना देखेका हर्नान्डेजले सामाजिक सञ्जालमा परीक्षा नदिई नागरिकता दिलाइदिने दाबी गरिएको एउटा विज्ञापन देखेका थिए।

उक्त विज्ञापन मियामीका चर्चित अध्यागमन अधिवक्ता एन्जल लियलको अनुहार र पहिचान प्रयोग गरेर बनाइएको थियो। सुरुमा $१,५०० डलर माग गरिएकोमा विभिन्न कागजातहरू,सामाजिक सुरक्षा कार्ड, ग्रिन कार्ड आदिको बहानामा ‘जेले’ एपमार्फत पटक-पटक गरी जम्मा $४,८२० डलर ठगी गरियो।

उनीहरूसँग मेरो सबै व्यक्तिगत कागजातहरू छन्, जसले मलाई ठूलो नोक्सानी पुर्याउन सक्छन्, मानसिक तनावमा परेका हर्नान्डेजले भने, “ठगीमा पैसा सिद्धिएकाले म दुई महिनाको घरभाडा र बिजुलीको बिल तिर्न नसक्ने अवस्थामा पुगेको छु।”

अधिवक्ता एन्जल लियलले आफ्नो ३३ वर्षको व्यावसायिक करियरमा पहिलोपटक यस्तो गम्भीर पहिचान चोरीको सामना गर्नुपरेको बताएका छन्। उनका अनुसार उनको अनुहार र तस्बिर प्रयोग गरेर बनाइएका हजारौँ नक्कली प्रोफाइल र भिडियोहरू सामाजिक सञ्जालबाट हटाइसकिएको छ, तर यो समस्या झन् बढ्दै गएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com