अध्यागमन कारबाहीमा खटिने प्रहरीलाई अमेरिकामा दायित्व बिमा अनुदान दिने आइसको तयारी


प्रकाशित मिति : १ भदौ २०८३, सोमबार

तस्वीर : आइस

अमेरिकाको आइसले अध्यागमन कानुन कार्यान्वयन गर्ने क्रममा सम्भावित दण्ड वा कानुनी खर्चबाट जोगाउन स्थानीय प्रहरी अधिकारीहरूलाई दायित्व बिमामा अनुदान दिने योजना अघि सारेको छ। शुक्रबार सार्वजनिक गरिएको एक योजना दस्तावेज अनुसार, सङ्घीय अध्यागमन कानुन कार्यान्वयन गर्न तालिमप्राप्त र अधिकारप्राप्त राज्य तथा स्थानीय अधिकारीहरूलाई बिमा प्रिमियममा सहयोग गर्ने आइसको तयारी छ।

यो प्रस्ताव अन्तर्गत, प्रहरी अधिकारीहरूले व्यक्तिगत दायित्वका लागि $५,०००,००० (पाँच लाख अमेरिकी डलर) सम्मको बिमा खरिद गर्नेछन्, जसले कानुनी शुल्क, सम्झौता रकम र न्यायिक निर्णयहरूबाट हुने खर्च समेट्छ। आइसले ती अधिकारीहरूलाई वार्षिक $२५० सम्म शोधभर्ना उपलब्ध गराउनेछ, जुन उक्त बिमाको अनुमानित लागत बराबर हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि आइस र स्थानीय प्रहरी निकायहरूबीचको साझेदारी तीव्र गतिमा बढेको छ। यो नयाँ बिमा योजनाले कानुनी जोखिम तथा वित्तीय दायित्वको डरले सहभागिता जनाउन हिचकिचाएका प्रहरी विभागहरूलाई समेत थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यसै साझेदारीका कारण अध्यागमन सम्बन्धी पक्राउ दरमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२६ को पहिलो दुई महिनामा स्थानीय साझेदारहरूमार्फत हुने पक्राउको सङ्ख्या औसत ३,००० प्रतिमहिना पुगेको छ, जुन सन् २०२४ मा जो बाइडेनको कार्यकालमा औसत २५० मात्र सीमित थियो।

अर्कोतर्फ, नागरिक अधिकारकर्मी तथा आलोचकहरूले भने यस कदमको तीव्र विरोध गरेका छन्। क्याटो इन्स्टिच्युटका अध्यागमन अध्ययन निर्देशक डेभिड बिअरका अनुसार, यस योजनाले प्रहरी अधिकारीहरूलाई सर्वसाधारणका अधिकार उल्लङ्घन गर्दा पनि व्यक्तिगत जवाफदेहिताबाट सजिलै उम्किने बाटो दिनेछ।

यस २८७(जी) साझेदारी कार्यक्रमलाई सहजीकरण गर्न आइसले सञ्चार, तालिम तथा बिमा शोधभर्नाको व्यवस्थापन हेर्ने गरी एक निजी ठेकेदार नियुक्त गर्ने योजना बनाएको छ।

स्थानीय प्रहरी निकायहरूले अध्यागमन कानुन कार्यान्वयन गर्दा अनुचित गिरफ्तार, अत्यधिक बल प्रयोग वा अवैध तलासी जस्ता आरोपमा पर्नसक्ने देवानी मुद्दाको जोखिम उच्च हुने भएकाले बिमाको माग गर्दै आएका थिए। राष्ट्रिय शेरीफ सङ्घले आइसको यस कदमलाई सकारात्मक मान्दै यसले अधिकारीहरूलाई कानुनी सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com