आइसद्वारा एटलान्टामा १,२०० भन्दा बढी कागजातविहीन आप्रवासीहरू गिरफ्तार


प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार

तस्वीर : आइस

अमेरिकाको आइसले एटलान्टामा सञ्चालन गरेको एक विशेष अभियानका क्रममा १,२०० भन्दा बढी कागजातविहीन आप्रवासीहरूलाई गिरफ्तार गरेको छ।

“अपरेसन सेफ कम्युनिटी-एटलान्टा”नाम दिइएको उक्त मिसनका क्रममा कुल १,२२६ जना हिरासतमा परेका हुन्। आइसका अनुसार पक्राउ परेकामध्ये ७०० भन्दा बढी व्यक्तिहरूको अमेरिकामा आपराधिक पृष्ठभूमि रहेको छ, जसमा यौन अपराध, ज्यान मार्ने उद्योग, लागूऔषध कारोबार तथा चोरी/डकैती जस्ता गम्भीर अपराधहरू समावेश छन्।

आइसको ‘एन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन’की कार्यवाहक सहायक निर्देशक प्याट्रिसिया हाइडले एक वक्तव्य जारी गर्दै भनिन्, हाम्रा अधिकृतहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै खतरनाक आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई पक्राउ गरी अमेरिकी समुदायबाट हटाएका छन्। जर्जियाका टोल-छिमेकबाट यस्ता आपराधिक पृष्ठभूमि भएका विदेशीहरूलाई हटाउनाले समुदायलाई धेरै सुरक्षित बनाउँछ, र हाम्रा कर्मचारीहरूले देशभर हरेक दिन यही कार्य गरिरहेका छन्।

उक्त अभियान कहिले सुरु भई कहिले सम्पन्न भयो भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन।

यो गिरफ्तारी यस्तो समयमा भएको हो, जब मेट्रो एटलान्टा क्षेत्रमा आइस विरुद्ध प्रदर्शनहरू निरन्तर भइरहेका छन्। गत महिना मात्र डाउनटाउन एटलान्टास्थित आइसको क्षेत्रीय कार्यालय अगाडि दर्जनौ मानिसहरूले मैनबत्ती बालेर निष्पक्ष कानुनी प्रक्रियाको माग गर्दै प्रदर्शन गरेका थिए।

यसैबिच, डेमोक्र्याटिक अमेरिकी प्रतिनिधि निकेमा विलियम्सले एक विधेयक प्रस्तुत गरेका छन्, जसले यातायात सुरक्षा प्रशासनलाई यात्रुहरूको विवरण आइससँग साझा गर्नबाट रोक्नेछ। हाल उक्त विवरणका आधारमा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले व्यक्तिहरूको अध्यागमन स्थिति जाँच गर्दै आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com