अमेरिकामा ५२% आप्रवासीसँग छैनन् वकिल: कानुनी सहायता नपाउँदा देश निकालाको जोखिम


प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामान्टोस्थित अध्यागमन अदालतको ढोकाबाहिर अधिवक्ता कमलप्रीत चौहानले ५७ जना मानिसहरूको सूची नियालिरहेकी थिइन्। तर, तीमध्ये एक जनासँग पनि अदालतमा बहस गरिदिने कानुनी प्रतिनिधि थिएनन्।

अध्यागमन अदालतमा कानुनी सहायताविहीन आप्रवासीहरूलाई नि:शुल्क परामर्श र मार्गदर्शन प्रदान गर्न खटिने स्वयंसेवी अधिवक्ताहरूको संस्था ‘क्यालिफोर्निया इमिग्रेसन प्रोजेक्ट’ की संयोजक हुन्, चौहान। अमेरिकामा आफ्नो भविष्य सुनिश्चित गर्ने वा देश निकाला भोग्ने भन्ने विषयको फैसला हुने यस जटिल कानुनी प्रक्रियामा वकिलविना उपस्थित हुनु आप्रवासीहरूका लागि निकै जोखिमपूर्ण मानिन्छ।

विशेषगरी दोस्रो ट्रम्प प्रशासनको समयमा सामूहिक निष्कासनको नीति कडाइका साथ लागू भइरहँदा कानुनी प्रतिनिधिको अभावले आप्रवासीहरूलाई अझ ठूलो संकटमा पारेको छ। अदालतहरूले शरण अस्वीकार गर्ने दर बढेको छ भने अदालत परिसरबाटै धरपकड हुने र पर्याप्त समय नदिई सुनुवाइ गर्दा मानिसहरू अदालतमा उपस्थित हुन नसक्ने समस्या बढ्दै गएको छ।

‘भेरा इन्स्टिच्युट अफ जस्टिस’ को तथ्यांक अनुसार अमेरिकाका अध्यागमन अदालतहरूमा विचाराधीन रहेका करिब ३२ लाख निष्कासनसम्बन्धी मुद्दाहरूमध्ये ५२ प्रतिशत केसहरूमा आप्रवासीहरूसँग वकिल छैनन्।

त्यस्तै, कंग्रेसनल रिसर्च सर्भिसको अध्ययन अनुसार वकिल नभएका आप्रवासीहरूले शरण वा अमेरिकामा बस्ने अनुमति पाउने सम्भावना मात्र १९ प्रतिशत रहन्छ। तर, वकिलको साथ पाएका आप्रवासीहरूमध्ये ४७ प्रतिशतले कानुनी सफलता प्राप्त गर्ने गरेका छन्।

फौजदारी अदालतमा जस्तो अध्यागमन अदालतमा सरकारले नि:शुल्क वकिलको व्यवस्था गर्दैन। निजी वकिल राख्न हजारौँ डलर खर्चनुपर्ने हुन्छ, जुन धेरैका लागि असम्भव प्रायः छ। गैरनाफामूलक संस्थाहरूको सेवा लिन लामो प्रतीक्षा सूचीमा बस्नुपर्छ।

अधिवक्ता चौहानका अनुसार कानुनी ज्ञानको अभावमा धेरै आप्रवासीहरू नक्कली वकिल वा ठगहरूको शिकार हुने गरेका छन्।

ग्वाटेमालाबाट गिरोहको धम्कीपछि अमेरिका आएका एक पीडितले आफूले वकिललाई ४,५०० डलर बुझाए पनि उसले अदालतमा केही काम नगरिदिएको र ठगी गरेर भागेको बताए। अदालतबाट निष्कासनको चेतावनी पाएपछि उनी अहिले आफ्नो भविष्यलाई लिएर अन्योल र त्रासको स्थितिमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्याक्रामान्टो अदालतमा चौहान र उनको टोलीले आप्रवासीहरूलाई निवेदनका फारम भर्ने, शरणका लागि आवश्यक प्रमाणहरू जुटाउने, स्पेनी भाषाका कागजातहरूलाई अंग्रेजीमा आधिकारिक अनुवाद गराउने र तोकिएको शुल्क बुझाएको रसिद सुरक्षित राख्न सल्लाह दिने काम गर्छन्।

अदालतभित्र अङ्ग्रेजी र अनुवादकको माध्यमबाट प्रक्रिया यति छिटो चल्छ कि धेरैजसो मानिसहरूले आफूसँग के भयो भन्ने नै बुझ्न पाउँदैनन्, चौहान भन्छिन्, जबसम्म सबै आप्रवासीका लागि कानुनी प्रतिनिधिको पहुँच सुनिश्चित हुँदैन, तबसम्म हाम्रो यो सानो प्रयासले केही हदसम्म सहयोग पुर्‍याउनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com