आइसले अगस्टको अन्त्यसम्ममा सबै अधिकारीहरूका लागि बडी क्यामेरा अनिवार्य गर्ने


प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार

तस्वीर : आइस

अमेरिकी आइसले यसै महिनाको अन्त्यसम्ममा आफ्ना सबै अधिकारी र एजेन्टहरूलाई बडी क्यामेरा उपलब्ध गराउने कार्य सम्पन्न गर्ने कार्यवाहक निर्देशक डेभिड भेन्चुरेलाले शनिबार बताएका

भेन्चुरेलाले एक विज्ञप्ति जारी गर्दै एजेन्सीको पूर्व निर्धारित तालिका भन्दा अगावै, अगस्ट महिनाको अन्त्यसम्ममा आइसले फिल्डमा खटिने हरेक अधिकारी र एजेन्टलाई बडी क्यामेराले सुसज्जित गर्ने जानकारी दिएका हुन्।

हिरासतमा रहेका कुनै व्यक्तिको गम्भीर घाइते वा मृत्यु भएपछि उपयुक्त देखिएको खण्डमा फुटेज छिटो सार्वजनिक गर्न एजेन्सीको नीतिले अनुमति दिने उनले बताए। तर अनुसन्धान वा व्यक्तिको गोपनीयतामा असर पुग्ने अवस्था देखिएमा एजेन्सीले उक्त फुटेज रोक्न सक्ने पनि भेन्चुरेलाले प्रष्ट पारेका छन्।

मिनेसोटामा अध्यागमन कारबाहीका क्रममा दुई अमेरिकी नागरिकको ज्यान गएपछि, तत्कालीन अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोएमले बजेट उपलब्ध भएअनुसार आइसको बडी क्यामेरा कार्यक्रमलाई देशभर लागू गरिने बताएकी थिइन्।

गत महिना मेन र टेक्सासमा ट्राफिक चेकिङका क्रममा भएका घातक गोलीकाण्डले विरोध प्रदर्शन निम्त्याउनुका साथै आइस एजेन्टहरूसँग बडी क्यामेरा नभएको विषयमा गम्भीर प्रश्नहरू खडा गरेको थियो।

यस घटनापछि ट्रम्प प्रशासनका सीमा मामिला प्रमुख टम होमनले आइस अधिकारीहरूले सवारी साधन रोकेर गरिने जाँचका क्रममा कम्तिमा एउटा बडी क्यामेराबाट अनिवार्य रेकर्ड गर्नुपर्ने नियम लागू हुने बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com