राष्ट्रपति ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता सीमित गर्ने दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर


प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार

तस्बिर: जुलिया डेमारी निकिन्सन / एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जन्मसिद्ध नागरिकता’ सम्बन्धी प्रावधानलाई सीमित गर्ने उद्देश्यका साथ दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतले यसअघि उनको यस्तै प्रयासलाई खारेज गरिदिएको केही सातापछि ट्रम्पले पुनः यो कदम चालेका हुन्।

ओभल अफिसबाट बिहीबार यी आदेशहरूको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो कार्य वर्षौँ पहिले हुनुपर्थ्यो, तर अहिले हामी यसलाई सम्हाल्दै छौँ।” उनले १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले अस्वीकार गरेकोमा असन्तुष्टि पनि व्यक्त गरे।

पहिलो कार्यकारी आदेशले गैर-नागरिकका सन्तानका लागि नागरिकता प्राप्तिको नियममा कडा व्यवस्था गरेको छ। यस आदेशले त्यस्ता गैर-नागरिक अभिभावकहरूलाई स्पष्ट रूपमा परिभाषित गरेको छ, जसका बालबालिका अमेरिकामा जन्मिए तापनि उनीहरूले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

नयाँ नियम अनुसार, यदि बालबालिकाका दुवै अभिभावक गैर-नागरिक हुन् र तीमध्ये कम्तीमा एक जना विदेशी आतंकवादी समूहको सदस्य भएमा, वा विदेशी सरकारको कर्मचारी भएमा त्यस्ता बालबालिकालाई नागरिकता प्रदान गरिने छैन। यसै गरी, ठगी माध्यमबाट नागरिकता लिने प्रयास गरेको पाइएमा, अथवा सङ्घीय कानूनले नागरिकता नदिने अमेरिकी क्षेत्रहरूमा बसोबास गरिरहेका व्यक्तिहरूका सन्तानलाई पनि स्वतः नागरिकता दिन प्रतिबन्ध लगाइएको छ।

यद्यपि, पुएर्तो रिकोजस्ता अमेरिकी क्षेत्रहरूमा जन्मिएका व्यक्तिहरूको जन्मसिद्ध नागरिकता भने सङ्घीय कानूनद्वारा नै व्यवस्थित गरिएको हुनाले सोही अनुसार हुनेछ।

दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् गर्भवती महिलाहरू आफ्ना बालबालिकालाई अमेरिकी नागरिक बनाउनकै लागि पर्यटकका रूपमा अमेरिका आउने परिपाटीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

वाइट हाउसका डेपुटी चीफ अफ स्टाफ स्टेफन मिलरका अनुसार, अध्यागमन तथा राष्ट्रियता ऐनले राष्ट्रपतिलाई देशमा प्रवेश गर्ने व्यक्तिहरूमाथि सीमा र अपवादहरू तोक्ने अधिकार दिएको छ।

ट्रम्प प्रशासनले ‘बर्थ टुरिजम’ का माध्यमबाट लाखौँ बालबालिका जन्मिएको दाबी गरे तापनि गैर-पक्षधर अनुसन्धान संस्था ‘माइग्रेसन पोलिसी इन्स्टिच्युट’ का अनुसार सन् २०२४ मा विदेशी ठेगाना भएका आमाहरूबाट अमेरिकामा करिब ९,६०० शिशुको जन्म भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुनका प्राध्यापक ग्याब्रिएल चिनका अनुसार, राष्ट्रपतिसँग अमेरिका आउने पर्यटकमाथि प्रतिबन्ध लगाउने अधिकार भए तापनि अमेरिकाको भूभागमा जन्मिसकेका बालबालिकाको नागरिकता खोस्ने अधिकार राष्ट्रपतिसँग छैन। सर्वोच्च अदालतको हालैको फैसलापछि नागरिकता रोक्ने प्रयासले पुनः गम्भीर संवैधानिक प्रश्नहरू खडा गरेको विज्ञहरूको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com