अमेरिकामा अभिभावकविहीन बालबालिकालाई द्रुत गतिमा स्वदेश फिर्ता पठाउन लागिएको भन्दै मुद्दा दर्ता
प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अभिभावकविहीन बालबालिकाहरूलाई लक्षित गरी उनीहरूलाई द्रुत गतिमा स्वदेश फिर्ता पठाउने नीति लागू गरेको भन्दै अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दर्ता गरिएको छ।अध्यागमन अदालतहरूमा गरिएका “कडा नीतिगत परिवर्तनहरू” का कारण हिंसा र बेचबिखनबाट उम्केर अमेरिका पुगेका बालबालिकाहरूलाई तुरुन्तै देश निकाला गर्ने जोखिम बढेको छ।
यहूदी परिवार तथा सामुदायिक सेवा पिट्सबर्ग र उसका छ जना आप्रवासी बालबालिका ग्राहकहरूको तर्फबाट पेन्सिल्भेनियाको पूर्वी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। फिरादपत्रमा उल्लेख भएअनुसार, कानुनी रूपमा अमेरिकामा बस्न योग्य भए तापनि देश निकालाको सङ्ख्या बढाउनका लागि बालबालिकाहरूलाई प्राथमिकतामा राखेर फिर्ता पठाउन लागिएको छ। यसका साथै, अन्य सङ्घीय निकायहरूबाट बालबालिकाका आवेदनहरू प्रक्रियामा रहँदै गर्दा अध्यागमन न्यायाधीशहरूलाई पर्याप्त समय नदिन र सुनुवाइ छिटो सक्न निर्देशन दिइएको आरोप लगाइएको छ।
कानुनी उजुरीमा भनिएको छ, यो मुद्दा हाम्रा अध्यागमन प्रणालीका सबैभन्दा संवेदनशील, शोषित, परित्यक्त र बेचबिखनमा परेका बालबालिकासँग सम्बन्धित छ। कम्तीमा यस्ता बालबालकाको रक्षा गर्नु अध्यागमन प्रणालीको प्राथमिकता हुनुपर्ने हो, तर ‘कुनै पनि मूल्यमा डिपोर्टेसन’ गर्ने एजेन्डाले उनीहरूको सुरक्षालाई ओझेलमा पारेको छ।
यस मुद्दामा अमेरिकी जस्टिस डिपार्टमेन्ट, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, आइस र युएससीआइएसलाई विपक्षी बनाइएको छ।
ऐतिहासिक रूपमा, मानव बेचबिखन र घरेलु हिंसाका शिकार भएका बालबालिकाका लागि अमेरिकी कंग्रेसले विशेष बालबालिका अध्यागमन स्थिति र ‘टी’ गैर-आप्रवासी भिसा जस्ता कानुनी मार्गहरू बनाएको थियो। यी प्रक्रियाहरू पूरा हुन वर्षौँ लाग्ने भएकाले न्यायाधीशहरूले बालबालिकालाई अस्थायी रूपमा देशनिकालाबाट छुट दिने गर्थे। तर, पछिल्ला महिनाहरूमा यो अभ्यास रोकिएको छ र एसआइजे स्वीकृति पाइसकेका वा बेचबिखनबाट जोगिएका नाबालिगहरूलाई समेत देशनिकालाको आदेश दिन थालिएको छ।
उक्त उजुरीका अनुसार नोभेम्बर २०२६ सम्ममा बालबालिका सम्बन्धी सबै मुद्दाहरू सक्न अदालतलाई निर्देशन दिइएको छ। प्रभावित बालबालिकाहरूमा गुआटेमालाकी १७ वर्षीया बेचबिखन पीडित किशोरी र भियतनामका १९ वर्षीय युवक समावेश छन्, जसले आफ्ना पिताको गम्भीर शारीरिक हिंसाबाट भागिआएका थिए।
यता,डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एक विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासन बालबालिकाको सुरक्षा र बेचबिखन रोक्न प्रतिबद्ध रहेको र सबै गैरकानुनी आप्रवासीहरूले कानुनबमोजिमको प्रक्रिया पाइरहेको दाबी गरेको छ।
यद्यपि, २०,००० भन्दा बढी बालबालिकाका लागि कानुनी सहायता उपलब्ध गराउने सरकारी ठेक्का रद्द गरिएपछि धेरै बालबालिकाहरू वकिलविहीन अवस्थामा अदालतमा उपस्थित हुन बाध्य भएका छन्।





