जागिरमा अमेरिकी नागरिकलाई निरुत्साहित गरेको आरोपमा ओपनएआईलाई ३२ लाख डलर जरिवाना
प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार
Photo: Levart_Photographer/ Unsplash
अमेरिकी जस्टिस डिपार्टमेन्टका अनुसार ओपनएआई र यसको सहायक कम्पनीले स्वदेशी कामदारलाई भन्दा अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारलाई प्राथमिकता दिएको तथा भर्ना प्रक्रियामा अमेरिकी नागरिकलाई विभेद गरेको आरोप सल्टाउन ३२ लाख अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएका छन्।
जस्टिस डिपार्टमेन्टको विज्ञप्ति अनुसार, ओपनएआई र प्रडक्ट डेभलपमेन्ट सफ्टवेयर निर्माता कम्पनी ‘स्ट्याटसिग’ले केही खुला पदहरूमा विदेशी कामदारहरूलाई आकर्षित गर्नका लागि अमेरिकी नागरिकहरूलाई आवेदन दिनबाट निरुत्साहित गर्ने कदम चालेका थिए।
जसमा अमेरिकी नागरिकहरूलाई अनलाइन आवेदनको सट्टा हुलाकबाट कागजी आवेदन पठाउन बाध्य पारिएको, अबेर राति रेडियोमा मात्र विज्ञापन बजाइएको र कम्पनीको बाहिरी वेबसाइटमा जागिरको सूचना प्रकाशित नगरिएको जस्ता गम्भीर आरोपहरू लगाइएका छन्।
ओपनएआईले सम्झौता पत्रमा आफ्नो कुनै गल्ती नरहेको दाबी गरे तापनि मुद्दा मिलाउन रकम तिर्न स्वीकार गरेको छ।
सहायक महान्यायाधिवक्ता हरमीत ढिल्लोनले यस सम्झौताले ओपनएआईलाई आफ्ना गल्ती सुधार्न र अमेरिकी कामदारहरूलाई प्रविधि क्षेत्रमा समान अवसर सुनिश्चित गर्न बाध्य पार्ने बताउनुभएको छ।
अध्यागमन तथा राष्ट्रियता ऐनको उल्लङ्घन गरेको आरोप लागेको यस प्रकरणमा केवल १० भन्दा कम पदहरू संलग्न भए तापनि, अमेरिकी कामदारमाथि परेको असरलाई ध्यानमा राख्दै ठूलो रकम जरिवाना तोकिएको हो। ३२ लाख डलरमध्ये १२ लाख डलर जरिवाना र २० लाख डलर पीडितहरूलाई क्षतिपूर्तिको रूपमा उपलब्ध गराइनेछ।





