अमेरिकामा आप्रवासीहरूको डिएनए सङ्कलन तीव्र: आपराधिक रेकर्ड नभएका बालबालिका समेत एफबीआईको डेटाबेसमा
प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आपराधिक रेकर्ड नभएका करिब १० लाख आप्रवासीहरूको डिएनए सङ्कलन गरी एफबीआईको केन्द्रीय आपराधिक डेटाबेसमा समावेश गर्न थालेको छ।
प्रविधि पत्रिका वाइर्डको रिपोर्ट अनुसार, सन् २०२५ मा आइसले करिब ९ लाख २० हजार आप्रवासीहरूको डिएनए प्रोफाइल एफबीआईको ‘कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम’मा प्रविष्ट गरेको छ। यो दैनिक औसत २ हजार ७ सय भन्दा बढी नयाँ डिएनए प्रोफाइल थपिनु सरह हो।
जोर्जटाउन लको ‘सेन्टर अन प्राइभेसी एन्ड टेक्नोलोजी’ द्वारा प्रकाशित “राइडिङ द जिनोम” शीर्षकको अनुसन्धान प्रतिवेदन अनुसार, सीमा क्षेत्रमा नियन्त्रणमा लिइएका अधिकांश आप्रवासीहरूको कुनै पनि आपराधिक पृष्ठभूमि छैन।
प्रतिवेदन अनुसार, टेक्सासको ‘डिल्ली’ स्थित पारिवारिक हिरासत केन्द्रमा राखिएका १४ वर्ष मुनिका ४९२ जना बालबालिकाको डिएनए समेत एफबीआईमा पठाइएको छ। जसमा ५ देखि ७ वर्ष उमेर समूहका दर्जनौ बालबालिकाहरू छन्। अमेरिकी सांसद्हरूले आपराधिक रेकर्ड नभएका परिवार र बालबालिकालाई हिंस्रक अपराधीहरूका लागि बनाइएको डेटाबेसमा राख्नु गलत भएको भन्दै आपत्ति जनाएका छन्।
साथै, हिरासतमा रहँदा डिएनए नमूना दिन अस्वीकार गर्ने आप्रवासीहरूमाथि आइसले कानुनी कारबाही चलाउन थालेको छ।डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने पारिवारिक नाता प्रमाणित गर्न डिएनए सङ्कलन गरिएको दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको छ।





