आन्तरिक उडान भर्न लागेकी जोन्स हप्किन्सकी अनुसन्धानकर्ता विमानस्थलबाट आइसको हिरासतमा
प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार
फोटो: होमल्याण्ड सेक्युरिटी
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालैका हप्ताहरूमा अमेरिकी विमानस्थलहरूमा अध्यागमन नियन्त्रण तीव्र पारेसँगै आन्तरिक उडान भर्न लागेकी जोन्स हप्किन्स विश्वविद्यालयकी एक अनुसन्धानकर्ता पक्राउ परेकी छन्।
अमेरिकी अध्यागमन अधिकारीहरू तथा वकिलहरूका अनुसार विमानस्थलहरूमा अध्यागमन कानुन कार्यान्वयन र गिरफ्तारीमा उल्लेख्य वृद्धि भएको छ। शरण वा विवाहका लागि निवेदन प्रक्रियामा रहेका व्यक्तिहरू भए तापनि भिसाको अवधि सकिएर बसिरहेकाहरूलाई मुख्य निशाना बनाइएको वकिलहरूले बताएका छन्। सरकारी तथ्याङ्क अनुसार अमेरिकामा वार्षिक रूपमा लाखौँ मानिसहरू अस्थायी भिसाको म्याद सकिएपछि पनि बस्दै आएका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अफ्रिकी मुलुक क्यामरुनकी नागरिक तथा ब्लूमबर्ग स्कुल अफ पब्लिक हेल्थकी कर्मचारी फातिमा अमिअकालाई बाल्टिमोर/वासिङ्टन इन्टरनेसनल थर्गुड मार्सल विमानस्थलबाट आइसले पक्राउ गरेको हो।
होमल्यान्ड सेक्युरिटीले अमिअका सन् २०२४ को जुनसम्म मात्र अमेरिका बस्न पाउने भिसामा आएको र सो अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसोबास गरेकाले देश निकालाको प्रक्रिया नसकिउन्जेल आइसको हिरासतमा रहने जनाएको छ।
घटनापछि जोन्स हप्किन्स विश्वविद्यालयले अमिअका आफ्नो समुदायकी एक “आदरणीय सदस्य” भएको र उनलाई आवश्यक कानुनी तथा अन्य सहयोग उपलब्ध गराउन पहल भइरहेको बताएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, आइस र ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशन बिचको आपसी समन्वय र सम्झौता विस्तार गरिएपछि भिसाको म्याद सकिएका विदेशी नागरिकहरूलाई आन्तरिक विमानस्थलहरूबाटै पक्राउ गर्ने क्रम बढेको हो।





