अमेरिकामा सङ्घीय सम्झौता सकिँदा २४ हजार आप्रवासी बालबालिका वकिलविहीन हुने जोखिम


प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार

Photo: Luca Campioni/ Unsplash

अमेरिकामा अभिभावकबिना प्रवेश गरेका दसौँ हजार आप्रवासी बालबालिकाहरूलाई कानूनी सहायता प्रदान गर्दै आएको सङ्घीय सम्झौताको म्याद शुक्रबार समाप्त हुँदैछ। यससँगै ती साना बालबालिकाहरूले अध्यागमन अदालतमा वकीलविना एक्लै न्यायाधीशको सामना गर्नुपर्ने जोखिम बढेको छ।

बालबालिकालाई कानूनी सेवा दिँदै आएका विभिन्न गैरनाफाकामा आधारित संस्थाहरूले आगामी सातादेखि आफ्नो सेवा कटौती गर्न वा सेवा नै पूर्ण रूपमा बन्द गर्न बाध्य हुने बताएका छन्। हाल यी संस्थाहरूले दक्षिण सीमाबाट अभिभावकबिना प्रवेश गरेका करिब २४,००० बालबालिकाको कानूनी मुद्दा हेरिरहेका छन्।

सङ्घीय सरकारले गत नोभेम्बरदेखि नै यी संस्थाहरूलाई दिनुपर्ने रकमको भुक्तानी रोकेको छ। गैरसरकारी संस्थाहरूका अनुसार सरकारले उनीहरूलाई करिब ६ करोड ५० लाख अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ। भुक्तानी नहुँदा पनि संस्थाहरूले आफ्नै बचत कोषबाट खर्च गरेर बालबालिकालाई कानूनी परामर्श दिइरहेका थिए, तर अब बजेट अभावका कारण कर्मचारी कटौती र सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ।

अमेरिकाको ‘अफिस अफ रिफ्युजी रिसेटलमेन्ट’ले गैरसरकारी संस्थाहरूले आफ्ना बालबालिका र तिनका संरक्षकको गोप्य विवरण उपलब्ध गराएमा मात्र सम्झौता नवीकरण गर्ने प्रस्ताव राखेको छ।

तर, सेवा प्रदायक संस्थाहरूले यो प्रस्तावलाई अस्वीकार गरेका छन्। बालबालिका र तिनका अभिभावक वा नातेदारको गोप्य विवरण सरकारलाई दिँदा त्यसको दुरुपयोग गरी अध्यागमन अधिकारीहरूले परिवारका अन्य सदस्यलाई पक्राउ वा देश निकाला गर्न सक्ने चिन्ता उनीहरूको छ।

अमेरिकी अध्यागमन कानून निकै जटिल मानिन्छ। अधिकांश बालबालिका अङ्ग्रेजी भाषा बोल्न सक्दैनन्। वकिलको सहयोग बिना उनीहरूले शरण वा विशेष भिसा प्राप्त गर्ने सम्भावना निकै कम हुन्छ।

अधिकारकर्मीहरूका अनुसार वकील नहुँदा बालबालिकाहरूलाई दबाबमा पारेर ‘स्वेच्छिक प्रस्थान’ फारममा हस्ताक्षर गराउने वा देश निकाला गर्ने आदेश दिने जोखिम उच्च रहन्छ।

करिब दुई दशक अघि अमेरिकी कंग्रेसले बालबालिकाको शोषण रोक्न कानूनी सहायताका लागि बजेट विनियोजन गर्ने कानून बनाएको थियो। संस्थाहरूका अनुसार सरकारले आफ्नो कानूनी दायित्व पूरा नगर्दा हजारौँ बालबालिकाको न्याय पाउने अधिकार खोसिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com