अमेरिकामा सडक चोकमा क्यामेराको कडा निगरानी, १ लाख १९ हजारभन्दा बढी सडक क्यामेरा सक्रिय
प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार
Photo: Cool Photos / Unsplash
तपाईँ आफ्ना दैनिक कामका लागि कार चलाएर बजार जाँदै हुनुहुन्छ भने सडक किनार वा चोकका खम्बामा जडान गरिएका क्यामेराले तपाईँको गाडीको तस्बिर खिचिरहेका हुन सक्छन्। अमेरिकाभर अहिले ‘स्वचालित लाइसेन्स प्लेट रिडर’ प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ, जसले सर्वसाधारण नागरिकका हरेक यात्राको अभिलेख राखिरहेको छ।
खुला स्रोत तथ्याङ्क परियोजना ‘डिप्लक’का अनुसार अमेरिकाभर हालसम्म करिब १ लाख १९ हजारभन्दा बढी यस्ता क्यामेराहरू नक्साङ्कन भइसकेका छन्। यसमध्ये ‘फ्लक सेफ्टी’नामक कम्पनीका क्यामेराको हिस्सा मात्रै करिब ८३ प्रतिशत रहेको छ। क्यालिफोर्निया राज्यमा मात्रै १६ हजारभन्दा बढी यस्ता क्यामेराहरू जडान गरिएका छन्।
सडक, चोक तथा आवासीय क्षेत्रका प्रवेशद्वारमा राखिएका यी क्यामेराहरूले गाडी आउने बित्तिकै स्वचालित रूपमा तस्बिर खिच्छन्। यो प्रविधिले गाडीको लाइसेन्स प्लेट नम्बर मात्र नभई गाडीको रङ, ब्रान्ड र मोडलसमेत स्पष्ट रूपमा पहिचान गर्छ।
यसका साथै, गाडीमा रहेका बम्पर स्टिकर, छानामा राखिएको र्याक वा अन्य बाहिरी विशेषताहरूका आधारमा पनि विवरण सङ्कलन गरिन्छ। क्यामेराले गाडी पास भएको ठ्याक्कै समय र स्थान जीपीएस लोकेसन समेत दर्ता गरी यी सबै विवरणलाई खोजीयोग्य डाटाबेसमा भण्डारण गर्छ। यद्यपि, कम्पनीका अनुसार यी क्यामेराहरूमा बायोमेट्रिक वा अनुहार पहिचान गर्ने प्रविधि भने राखिएको छैन।
प्रहरी प्रशासनले यी क्यामेराहरूको मद्दतले चोरी भएका गाडीहरू फेला पार्न र गम्भीर अपराधमा संलग्न शङ्कास्पद व्यक्तिहरूलाई समात्न ठूलो सहयोग पुगेको बताएका छन्।
तर, गोपनीयतासम्बन्धी अधिकारकर्मीहरू भने यसले सर्वसाधारण नागरिकको व्यक्तिगत जीवनमा गम्भीर असर पारिरहेको तर्क गर्छन्। कुनै पनि कसुर नगरेका नागरिकहरू कहाँ जान्छन्, कुन अस्पताल वा धार्मिक स्थल पुग्छन् भन्ने जस्ता संवेदनशील विवरणहरू डाटाबेसमा सुरक्षित रहनुले नागरिकको हिँडडुल गर्ने स्वतन्त्रता र गोपनीयतामाथि प्रश्न उठाएको छ।
साथै, प्रविधिमा आउने त्रुटिका कारण निर्दोष नागरिकहरू फस्ने खतरा पनि देखिएको छ। हालै लस एन्जलस प्रहरीले गरेको समीक्षा अनुसार दुई महिनामा १६१ वटा प्लेटहरूलाई गलत रूपमा ‘चोरी भएको’ भनेर फ्ल्याग गरिएको थियो।
क्यालिफोर्निया राज्यको नियम अनुसार स्थानीय प्रहरीले एएलपीआरको तथ्याङ्क अन्य राज्य वा सङ्घीय निकायहरूसँग साझा गर्न पाउँदैनन्। तर, नियम उल्लङ्घन गर्दै १०० भन्दा बढी बाहिरी एजेन्सीहरूसँग डाटा साझा गरेको आरोपमा क्यालिफोर्नियाका एन्टार्नी जनरलले एल काहोन शहरविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
त्यस्तै, लस एन्जलस प्रहरी र फ्लक सेफ्टीबीचको ३ वर्षे सम्झौता अवधि सकिएपछि एलएपीडीले हालका लागि उक्त क्यामेरा डाटाको पहुँचमा रोक लगाएको छ। तथ्याङ्कको स्वामित्व, गोपनीयता र सुरक्षाका नयाँ सर्तहरू तय नभएसम्म डाटा पहुँच नगर्ने एलएपीडीले जनाएको छ।
विशेषज्ञहरूका अनुसार आफ्ना क्षेत्रमा यस्ता क्यामेराहरूबारे जानकारी राख्न नागरिकहरूले निम्न कुरामा ध्यान दिन सक्छन्: १. नक्सा जाँच गर्ने: डिफ्लक डट ओआरजी मार्फत आफ्नो वरपर जडान भएका क्यामेराहरूको स्थिति हेर्ने। २. स्थानीय नीति बुझ्ने: प्रहरी वा स्थानीय निकायले विवरण कति दिनसम्म सुरक्षित राख्छन् भन्ने नीतिबारे जानकारी लिने। ३. दुरुपयोगबारे सचेत रहने: तथ्याङ्कको पहुँच कस-कसलाई छ र यसको दुरुपयोग भए/नभएको कसले छानबिन गर्छ भन्नेबारे स्थानीय निकायसँग पारदर्शिता माग्ने।





