विविधता र आप्रवासन अधिकारमा अङ्कुश लगाएको भन्दै अमेरिकी कृषि मन्त्रालयविरुद्ध मुद्दा दर्ता
प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
विविधता प्रवर्द्धन र आप्रवासन अधिकारका कार्यक्रमहरूमा रोक लगाउने गरी ल्याइएको अनुदान सर्तविरुद्ध पाँचवटा गैरसरकारी संस्थाले अमेरिकी कृषि मन्त्रालय विरुद्ध बिहीबार अदालतमा मुद्दा दायर गरेका छन्।
सियाटलस्थित अमेरिकी संघीय अदालतमा दायर गरिएको उक्त मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका पालामा ल्याइएका अनुदानसम्बन्धी विवादित सर्तहरू खारेज गर्न माग गरिएको छ।
मुद्दा दायर गर्ने संस्थाहरूमा एग्रोइकोलोजी कमन्स, ओरेगन फार्म कर्प्स, सिरैक्युज-ओनोन्डागा फुड सिस्टम्स अलायन्स, थर्ड सेक्टर न्यू इङ्ल्यान्ड, र वासिङ्टन फार्मल्यान्ड ट्रस्ट रहेका छन्।
संस्थाहरूले गत डिसेम्बर ३१ मा कृषि मन्त्री ब्रुक रोलिन्सद्वारा हस्ताक्षरित एक निर्देशनात्मक ज्ञापनपत्र माथि कडा आपत्ति जनाएका छन्। उक्त ज्ञापनपत्रमा अनुदान प्रदान गर्दा लागू हुने नयाँ नियम र सर्तहरू उल्लेख गरिएका थिए।
मन्त्री रोलिन्सले ट्रम्प प्रशासनको यो कदम उग्र वामपन्थी विचारधारालाई समाप्त पार्नका लागि चालिएको बताएकी थिइन्।
नागरिक अधिकारवादी समूहहरूका अनुसार यस्ता विविधता सम्बन्धी कार्यक्रमहरूले महिला, एलजीबीटी समुदाय तथा अल्पसंख्यक जातीय समूहहरूमाथि हुँदै आएको प्रणालीगत र पुस्तान्तरणगत असमानतालाई सम्बोधन गर्न मद्दत पुर्याउँछन्।
कृषि मन्त्रालयले यस मुद्दाबारे हालसम्म कुनै टिप्पणी गरेको छैन। मन्त्रालयको आधिकारिक विवरण अनुसार वित्त वर्ष २०२५ मा विभिन्न २८७ वटा कार्यक्रममार्फत १४५ अर्ब डलरभन्दा बढी अनुदान रकम वितरण गरिएको थियो।





