पक्राउ पुर्जी कार्यान्वयन नभएका आप्रवासीलाई लक्षित गरी न्युयोर्कमा आइसको नयाँ अपरेसन सुरु


प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकाको आइस एजेन्सीले न्युयोर्क शहरमा नयाँ अपरेसन सुरु गरेको छ। आइसका स्रोतहरूले सोमबार बिहानदेखि क्विन्स क्षेत्रमा अपरेसन सुरु भएको र मङ्गलबार लङ आइल्याण्डतर्फ सर्ने जानकारी दिएका छन्।

यो अपरेसन खास गरी ती व्यक्तिहरूलाई लक्षित गरी चलाइएको हो, जसका विरुद्ध पहिले अध्यागमन पक्राउ पुर्जी जारी गरिए तापनि कार्यान्वयन भएको थिएन। यस्ता पुर्जीमार्फत आइसले अन्य प्रहरी निकायहरूसँग आप्रवासीको हिरासत स्थितिबारे जानकारी माग्ने र उनीहरूलाई सामान्य अवधिभन्दा बढी समय नियन्त्रणमा राख्न अनुरोध गर्ने गर्दछ।

यसैबीच, न्युयोर्क शहरका मेयर जोहरान ममदानीले आइसको यस कदमको तीव्र आलोचना गरेका छन्। यसै महिनाको सुरुवातमा ह्युस्टनमा आइसको कारबाहीका क्रममा एक मेक्सिकन आप्रवासीको मृत्यु भएपछि उनले यस एजेन्सीलाई नै खारेज गर्नुपर्ने माग गरेका थिए।

मेयर ममदानीले भनेका थिए, न्युयोर्क शहर पूर्ण र स्वतन्त्र छानबिनका साथै वास्तविक जवाफदेहिताको माग गर्दै साल्गाडो परिवारको साथमा उभिएको छ। साल्गाडो परिवार र त्रासपूर्ण वातावरणमा बाँचिरहेका यस शहरका प्रत्येक आप्रवासी परिवारप्रति हामी संवेदना व्यक्त गर्दछौँ। न्यायको खोजीमा हामी तपाईँहरूकै साथमा रहनेछौँ। आइसलाई खारेज गरियोस्।

दोस्रो ट्रम्प प्रशासनको अध्यागमन नीति हाल तीव्र विवादमा परेको छ। यसअघि मिनियापोलिसमा संघीय अध्यागमन अधिकारीहरूको कारबाहीका क्रममा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि यो विरोध थप चर्किएको थियो।

यसैबिच, ह्वाइट हाउसका सिमाना मामिला प्रमुख टम होमनले हालै टेक्सास र मेनमा भएका दुई घातक गोलीकाण्डमा संलग्न आइस अधिकारीहरूको वर्तमान स्थितिबारे आफूलाई स्पष्ट जानकारी नभएको बताएका छन्। सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा बोल्दै होमनले भने, मलाई यसबारे विशेष जानकारी छैन। म अनुसन्धानमा सीधा संलग्न छैन, तर नियमअनुसार अनुसन्धान चलिरहँदा अधिकारीहरूलाई प्रशासनिक बिदामा राखिनुपर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com