दक्षिण अफ्रिकामा कागजातविहीन आप्रवासीविरुद्ध तीव्र प्रदर्शन, १ लाख ६० हजारभन्दा बढीले देश छाडे
प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार
फोटो :एपी/रासस
सीमा नियन्त्रणमा सरकारी फितलोपन, बढ्दो अपराध र बेरोजगारीको विरोधमा सर्वसाधारण सडकमा ओर्लिएपछि दक्षिण अफ्रिकाबाट १ लाख ६० हजारभन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्किएका छन्।
स्थानीय नागरिकहरूले सीमा सुरक्षा कायम गर्न र गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई निष्कासन गर्न माग गर्दै देशव्यापी प्रदर्शन जारी राखेका छन्। ‘मार्च एन्ड मार्च’ नाम दिइएको नागरिक आन्दोलनकी संस्थापक तथा नेत्री ज्यासिन्ता ङगोबेसे-जुमाका अनुसार दक्षिण अफ्रिकामा कागजातविहीन आप्रवासीको सङ्ख्या १५ लाखदेखि ३ करोडसम्म हुन सक्ने दाबी गरिएको छ। ६ करोड ३० लाख दर्ता भएका नागरिक रहेको देशमा यति ठूलो सङ्ख्यामा रहेका गैरकानुनी आप्रवासीका कारण स्थानीय अपराध बढेको, रोजगारी खोसिएको र अस्पताल तथा विद्यालयजस्ता सार्वजनिक सेवामा अत्यधिक चाप परेको आरोप लगाइएको छ।
जोहानेसबर्ग नजिकैको सोवेटोलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू घर-घर पुगेर विदेशीहरूलाई देश छाड्न समयसीमा दिइरहेका छन्। हालै भएका प्रदर्शनका क्रममा प्रहरीले ९०० भन्दा बढी मानिसलाई गिरफ्तार गरेको छ भने हिंसात्मक झडपमा परी कम्तीमा पाँच जना आप्रवासीको मृत्यु भइसकेको छ।
दक्षिण अफ्रिकाको आधिकारिक तथ्याङ्क विभागको सन् २०२२ को जनगणनाअनुसार देशमा करिब ३० लाख मात्र आप्रवासी रहेका छन्। तर, प्रदर्शनकारी तथा विपक्षी दलहरूले सरकारले आफ्नो कमजोरी लुकाउन वास्तविक सङ्ख्या घटाएर देखाएको आरोप लगाएका छन्।
देशमा हाल आधिकारिक बेरोजगारी दर ३२.७ प्रतिशत पुगेको छ। राष्ट्रपति सिरिल रामाफोसाले एक सम्बोधनका क्रममा केही रोजगारदाताहरूले न्यूनतम पारिश्रमिकभन्दा निकै कम ज्याला दिएर कागजातविहीन आप्रवासीहरूलाई काममा लगाउने गरेको स्वीकार गरेका छन्। यसले गर्दा स्थानीय दक्षिण अफ्रिकीहरूले रोजगारी नपाएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।
बढ्दो जनआक्रोशपछि राष्ट्रपति रामाफोसाले अवैध आप्रवासनमाथि कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारका अनुसार हालसम्म ५३,४४९ जना विदेशी नागरिकलाई देशनिकाला तथा स्वदेश फिर्ताको प्रक्रियामा लगिएको छ।
तर, विपक्षी दल ‘एक्सन एसए’का अध्यक्ष हर्मन मासाबाले सरकारको यो कदम निकै ढिलो र फितलो भएको टिप्पणी गरेका छन्। उनले तीन दशकदेखिको सत्ताधारी दल एएनसीको फितलो सीमा नीतिका कारण नै देशमा यस्तो सङ्कट आएको आरोप लगाउँदै सामूहिक देशनिकाला र कडा सीमा सुरक्षाको माग गरेका छन्।
सर्वसर्वेक्षणहरूका अनुसार दक्षिण अफ्रिकामा बेरोजगारीपछि आप्रवासन नै नागरिकहरूको दोस्रो ठूलो चिन्ताको विषय बनेको छ। सन् २००८ र २०१५ मा पनि दक्षिण अफ्रिकामा आप्रवासीविरोधी हिंसा भड्किँदा दर्जनौ मानिसको ज्यान गएको थियो।





