अमेरिकी बजेट रोकिँदा हजारौँ आप्रवासी बालबालिका कानुनी सहायताबाट वञ्चित हुने जोखिममा
प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार
Photo: Benjamin Hersh/ Unsplash
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको एक महत्त्वपूर्ण ठेक्का सम्झौता यही जुलाई ३१ मा समाप्त हुन लागेकाले अध्यागमन प्रक्रियामा रहेका हजारौँ अभिभावकविहीन आप्रवासी बालबालिकाले कानुनी सहायता गुमाउने जोखिम बढेको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
अध्यागमनसम्बन्धी कानुनी सेवा प्रदान गर्दै आएका संस्थाहरूले विगत केही महिनादेखि सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको बताएका छन्। यसरी भुक्तानी नपाउनेहरूमा ओरेगनको सबैभन्दा पुरानो स्वतन्त्र अध्यागमन तथा शरणार्थी अधिकार संस्था ‘इमिग्रेसन काउन्सिलिङ सर्भिस’ समेत रहेको छ, जसले हाल १०० भन्दा बढी बालबालिकाको तर्फबाट कानुनी पैरवी गरिरहेको छ।
‘अकासिया सेन्टर फर जस्टिस’का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जुलाई ३१ देखि अभिभावकविहीन बालबालिकालाई कानुनी परामर्श दिँदै आएको यो कार्यक्रमलाई प्रभावकारी रूपमा बन्द गर्न लागेको हो। जर्ज डब्लु बुश तथा ट्रम्पको पहिलो कार्यकालसहित लामो समयदेखि द्विपक्षीय सहयोग र बजेट पाउँदै आएको यस कार्यक्रमले १०० भन्दा बढी सेवा प्रदायक संस्थाहरूसँग सम्झौता गरी २०,००० भन्दा बढी बालबालिकालाई कानुनी सेवा पुर्याउँदै आएको छ।
यी बालबालिका कुनै राजनीतिक मोलमोलाइका माध्यम होइनन्। हिंसा, मानव बेचबिखन र दुव्र्यवहारबाट उम्किएर आएका यी बालबालिकाले वकिलको साथ पाएर आफ्नो मुद्दा प्रस्तुत गर्न पाउनु उनीहरूको कानुनी र नैतिक अधिकार हो। डिपोर्टेसनको लक्ष्य पूरा गर्न बालबालिकालाई कानुनी सहाराविहीन बनाउनु अनैतिक कार्य हो, अकासिया सेन्टरकी कार्यकारी निर्देशक साइना एबरले भनिन्।
ओरेगनमा अकासियाले आईसीएससँग सहकार्य गर्दै आएको छ। आईसीएसका ३ जना वकिलहरूले १७५ जना बालबालिकाको मुद्दा हेरिरहेका छन्। रकम रोक्किएपछि संस्थाले नयाँ बालबालिकालाई सेवा दिन छाडेको छ। आईसीएसकी वकिल बेकी हिल्स्ट्रोम एक्लैले ८० जना बालबालिकाको प्रतिनिधित्व गरिरहेकी छन्। उनका अनुसार बालबालिकाहरू अभिभावक वा संरक्षकबिनै अमेरिका आइपुग्दा यो जटिल र लामो अध्यागमन प्रक्रियामा वकिलहरूको भूमिका अहम् हुन्छ।
अधिकारकर्मीहरूका अनुसार अध्यागमन अदालतहरूमा प्रयोग भइरहेको ‘मेगा मास्टर’ क्यालेन्डर सुनुवाइमार्फत बालबालिकाहरूलाई द्रुत गतिमा देशनिकाला गर्ने प्रक्रिया तीव्र पारिएको छ, जसको व्यापक विरोध भइरहेको छ। जुनको अन्त्यमा ओरेगनका अमेरिकी सिनेटर रोन वाइडेनले स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरलाई पत्र लेख्दै ५०० भन्दा बढी प्रवासी बालबालिकालाई द्रुत गतिमा हटाउन लागिएको भन्दै ध्यानाकर्षण गराएका थिए।अहिले अभिभावकविहीन बालबालिकाहरूलाई हिरासतमा लिने र देशनिकाला गर्ने दर ट्रम्पको पहिलो कार्यकालका अन्तिम वर्षहरूको तुलनामा तीन गुणा बढेको छ।





