ट्रम्पको ट्यारिफ नीतिका कारण फिक्का बन्यो क्यानाडा-अमेरिका जोड्ने नयाँ पुलको उद्घाटन


प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार

Photo: Brad Switzer/ Unsplash

क्यानाडा र अमेरिकाको मिसिगन राज्यलाई जोड्ने बहुप्रतीक्षित ‘गोर्डी होवे अन्तर्राष्ट्रिय पुल’ ६.४ करिब ४.५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण सम्पन्न भई शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। यद्यपि, दुई देशबीच चर्किएको व्यापारिक तनावका कारण यो ऐतिहासिक अवसर उत्साहजनक हुन सकेन।

सन् २०१२ मा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा यो पुल निर्माणको सम्झौता भएको थियो। त्यस समयमा दुई देशबीचको सम्बन्ध निकै सुमधुर थियो। दुवै राष्ट्रको साझा सम्मानस्वरूप पुलको नाम क्यानेडियन आइस हक्की स्टार गोर्डी होवेको नाममा राखिएको थियो, जसले डेट्रोइट रेड विंग्स टोलीबाट २५ सिजन खेलेका थिए।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो नीतिहरूका कारण दुई देशको सम्बन्धमा ठूलो दरार आएको छ। ट्रम्प प्रशासनले हालै क्यानाडाका २० अर्ब डलर बराबरका उत्पादनहरूमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेपछि क्यानाडा रुष्ट बनेको छ।

व्यापारिक विवादकै कारण क्यानाडाले उद्घाटन समारोहमा अमेरिकी अधिकारीहरूलाई दिइएको निमन्त्रणा रद्द गर्यो। साथै, कार्यक्रमलाई दुई देशको सिमानाबाट हटाएर क्यानाडा सीमा सेवा एजेन्सीको निरीक्षण परिसरमा सारेको छ।

क्यानाडाको पूर्वाधार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,अमेरिकाले चालेको एकतर्फी व्यापारिक कदमका कारण दुई देशबीच संयुक्त उत्सव मनाउनु अनुपयुक्त हुनेछ। यद्यपि, यो गोर्डी होवे अन्तर्राष्ट्रिय पुल दुवै देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण आधार स्तम्भ बन्नेछ।

६.४ अर्ब डलरको यो विशाल पुल निर्माणको सम्पूर्ण खर्च क्यानाडा एक्लैले बेहोरेको थियो। आउँदो सोमबारदेखि मात्र यस पुलमा सर्वसाधारणका लागि सवारी साधनहरू सञ्चालनमा आउनेछन्।

राजनीतिक विवादका बाबजुद हालै भएको सम्झौताअनुसार, आगामी १५ वर्षसम्म सञ्चालन खर्च कटाएर बाँकी रहने महसुल रकमको आधा भाग अमेरिकाले प्राप्त गर्नेछ। यद्यपि, प्रारम्भिक वर्षहरूमा पुल सञ्चालन घाटामा रहने अनुमान गरिएको छ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीका अनुसार आगामी १५ वर्षमा अमेरिकाले निर्माण लागतको करिब ५ प्रतिशत लगभग ३२० मिलियन क्यानेडियन डलर प्राप्त गर्नेछ। विन्डसरका मेयर ड्रिउ डिल्केन्सले भविष्यमा दुई देशको सम्बन्ध सुधार भएपछि मात्र यसको औपचारिक उत्सव उचित ढङ्गले मनाउन सकिने आशा व्यक्त गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com