अमेरिकामा आइस विरोधी प्रदर्शनकारीमाथि गोली प्रहार गर्ने कर्मचारीविरुद्ध मुद्दा दर्ता
प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार
तस्वीर : आइस
अमेरिकाको कोलोराडोस्थित अरोरामा रहेको अध्यागमन प्रवर्तन प्रशोधन केन्द्र बाहिर प्रदर्शन गरिरहेकी एक महिलामाथि गोली चलाएको आरोपमा एक निजी ठेकेदार कम्पनीका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उक्त केन्द्र सञ्चालन गर्ने ‘जीईओ ग्रुप’ का ४२ वर्षीय कर्मचारी ब्राण्डन बुथले गत हप्ता अरोरामा प्रदर्शन गरिरहेका दुई महिलाको दिशामा आफ्नो व्यक्तिगत पेस्तोलबाट गोली चलाएका थिए। सो घटनामा २२ वर्षीया प्रदर्शनकारी एमा ल्यान्डिसको खुट्टामा गोली लागेर घाइते भएकी छन्।
प्रहरीका अनुसार अरोरा स्थित केन्द्रमा प्रवेश गर्न पर्खिरहेका कर्मचारीहरूसँग प्रदर्शनकारीहरूले भनाभन गर्दै उनीहरूका गाडीका फोटो खिचिरहेका थिए। त्यसै क्रममा बुथले आफ्नो गाडीबाट ओर्लेर एक राउन्ड गोली चलाएका हुन्। घटना लगत्तै फरार भएका बुथलाई प्रहरीले केही समयमै पक्राउ गरेको थियो।
कोलोराडोको १७ औँ न्यायिक जिल्लाको जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार बुथविरुद्ध पहिलो डिग्रीको आक्रमणर आक्रमणको प्रयास गरी दुई गम्भीर आपराधिक मुद्दा दर्ता गरिएको छ। पहिलो डिग्रीको आक्रमण पुष्टि भएमा १० देखि ३२ वर्ष र आक्रमणको प्रयासमा ५ देखि १६ वर्षसम्मको कैद सजाय हुन सक्ने व्यवस्था छ।
घटनापछि जीईओ ग्रुपका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित कर्मचारीलाई बेतलबी बिदामा राखिएको र अनुसन्धानमा पूर्ण सहयोग गरिने जानकारी दिएका छन्।





