युरोप छिर्ने क्रममा मौरिटानियाको तटीय क्षेत्रमा १४४ जनाको मृत्यु
Photo: KaLisa Veer/ Unsplash
युरोप पुग्ने प्रयासमा रहेका कम्तीमा १४४ जना शरणार्थी तथा प्रवासीहरू मौरिटानियाको तटीय क्षेत्रमा मृत फेला परेका वा बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले मङ्गलबार जनाएको छ।
जुलाई १४ देखि १८ को बीचमा मौरिटानियामा सञ्चालन गरिएका तीनवटा उद्धार अभियानपछि यो विवरण सार्वजनिक गरिएको हो। जोखिमपूर्ण समुद्री यात्राको विकल्प तयार पार्नका लागि शिक्षा र रोजगारीका अवसरहरूमा पहुँच बढाउन राष्ट्रसङ्घीय नियोगले आह्वान गरेको छ।
गाम्बियाको बुफालोटोबाट छुटेर २५ दिनसम्म समुद्रमा अलपत्र परेको एउटा डुङ्गालाई जुलाई १८ मा उद्धार गर्दा त्यसमा सवार १४३ जनाको मृत्यु भइसकेको थियो। सहायता प्रदान गर्न मौरिटानियाको नोआधिबु पुगेको युएनएचसीआरका अनुसार उक्त डुङ्गामा शवहरूसँगै ३८ जना जीवित व्यक्ति उद्धार गरिएका थिए।
उक्त डुङ्गाबाट जीवितै उद्धार गरिएकाहरूमा दुईजना बालबालिका पनि छन्, जसले यात्राका क्रममा आफ्ना सबै परिवारका सदस्य गुमाएका छन्। उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको छ, युएनएचसीआरका प्रवक्ता म्याट साल्टमार्शले जेनेभामा आयोजित राष्ट्रसङ्घीय पत्रकार सम्मेलनमा भने। पीडितहरू डुबेर मरेका हुन् वा भोक-प्यासका कारण, सोबारे तत्काल स्पष्ट भइनसकेको र उनीहरू उप-सहारा अफ्रिकी देशका नागरिक रहेको उनले बताए।
यसैगरी, जुलाई १४ मा मौरिटानिया पुगेको अर्को डुङ्गाका एकजना यात्रीको पनि मृत्यु भएको युएनएचसीआरले जनाएको छ। जुलाई १४ देखि १८ को बीचमा भएका तीनवटा उद्धार अभियानमार्फत जम्मा ३८७ जनाको जीवितै उद्धार गरिएको छ।
सन् २०२६ मा हालसम्म मौरिटानियाका नोआधिबु र नोआकचोटमा १७ वटा उद्धार कार्य सम्पन्न भएका छन्, जसबाट कुल २,१४७ जनाको उद्धार गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यस वर्ष प्रमुख समुद्री मार्गहरूबाट युरोप पुग्ने शरणार्थी तथा प्रवासीको सङ्ख्या एक तिहाइभन्दा बढीले घटेको छ। सन् २०२५ को पहिलो छ महिनामा ६५,४०७ जना युरोप पुगेकोमा यस वर्ष सोही अवधिमा ४०,००० भन्दा केही बढी मात्र पुगेका छन्। यद्यपि, यात्राका क्रममा हुने मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या अझै पनि “चिन्ताजनक स्तर” मा रहेको युएनएचसीआरले चेतावनी दिएको छ।





