अमेरिकामा बढ्दै ‘डेमोक्रेटिक सोसलिस्ट’ को प्रभाव : डीसीमा लुइसको ऐतिहासिक विजय
प्रकाशित मिति : ६ असार २०८३, शनिबार
अमेरिकामा डेमोक्रेटिक समाजवादी धारको उदय भएको अनुमान गर्न थालिएको छ। राजधानी वासिङ्टन डीसीको मेयर पदका लागि भएको डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा जेनिस लुइस जर्ज विजयी भएपछि यी अनुमानहरूले चर्चा पाउन थालेका हुन्।
उनको विजयलाई अमेरिकामा डेमोक्रेटिक समाजवादी धारको बढ्दो प्रभावको अर्को महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ। पछिल्लो १२ वर्षदेखि मध्यमार्गी र व्यवसायमैत्री नीतिमा केन्द्रित नेतृत्व रहँदै आएको डीसीको राजनीतिमा लुइस जर्जको उदयले नयाँ बहस सुरु गरेको छ।
निर्वाचनअघि उनी मुख्यतः धनी, श्वेत तथा सहरमा हालै बसोबास गर्न आएका मतदाताको समर्थनमा निर्भर रहेको टिप्पणी गरिए पनि मतपरिणामले फरक तस्बिर प्रस्तुत गरेको छ। उनले विभिन्न जातीय, सामाजिक र आर्थिक पृष्ठभूमिका मतदाताबाट व्यापक समर्थन प्राप्त गरेकी छन्।
विजयपछि लुइस जर्जले आफूहरूले सहरको इतिहासकै सबैभन्दा विविध राजनीतिक गठबन्धन निर्माण गरेको दाबी गरिन्। उनका अनुसार उक्त गठबन्धनमा सामुदायिक अभियन्ता, वातावरण संरक्षणकर्मी, नर्स, सार्वजनिक यातायातका कर्मचारी, संघीय कर्मचारीदेखि सरसफाइ मजदुरसम्मको सहभागिता रहेको छ।
लुइस जर्जको विजयलाई अमेरिकाका प्रमुख सहरहरूमा देखिएको प्रजातान्त्रिक समाजवादी राजनीतिक लहरको निरन्तरताका रूपमा लिइएको छ। गत वर्ष न्यूयोर्कमा जोहरान माम्दानी र सिएटलमा केटी विल्सन मेयर निर्वाचित भएका थिए। दुवैले किफायती आवास, बाल हेरचाह, जीवनयापनको बढ्दो खर्च नियन्त्रण तथा सामाजिक सेवामा सरकारी लगानी विस्तार गर्ने एजेन्डा अघि सारेका थिए।
लस एन्जलस सिटी काउन्सिल सदस्य निथ्या रमन पनि मेयर पदको प्रतिस्पर्धामा अगाडि बढ्न सफल भएकी छन्। उनी पनि ‘डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका’ सँग आबद्ध नेतृ हुन्।
डेमोक्र्याट उम्मेदवारहरूको लगातार सफलतासँगै डेमोक्रेटिक पार्टीभित्र पनि वैचारिक बहस चर्किएको छ। प्रजातान्त्रिक समाजवादी पक्षले आम नागरिकका आर्थिक समस्या र जीवनस्तर सुधारका मुद्दालाई केन्द्रमा राखेर राजनीति गर्दा मतदाताको समर्थन बढ़िरहेको दाबी गरेको छ।
तर मध्यमार्गी डेमोक्रेट नेताहरू भने यस्तो सफलता अत्यधिक उदारवादी सहरहरूमा मात्र सीमित रहेको बताउँछन्। उनीहरूका अनुसार यस्ता नतिजाले सम्पूर्ण अमेरिकाको राजनीतिक प्रवृत्तिलाई प्रतिनिधित्व गर्दैनन्।
विश्लेषकहरूले न्यूयोर्क, सिएटल र वासिङ्टन डीसीजस्ता क्षेत्रमा प्राप्त सफलतालाई राष्ट्रिय राजनीतिक प्रवृत्तिको रूपमा व्याख्या गर्नु उचित नहुने बताएका छन्। न्यूयोर्कका मेयर जोहरान माम्दानी अहिले आफ्नो राजनीतिक प्रभाव स्थानीय तहबाट संघीय राजनीतिसम्म विस्तार गर्ने अभियानमा छन्। उनले अमेरिकी प्रतिनिधिसभाका विभिन्न प्राथमिक निर्वाचनमा डेमोक्रेटिक समाजवादी उम्मेदवारहरूलाई खुला समर्थन गरिरहेका छन्।
हालै आयोजित चुनावी कार्यक्रममा माम्दानीले डेमोक्रेटिक पार्टीले पुरानो राजनीतिक सोच त्याग्न नसके आगामी निर्वाचनहरूमा चुनौती सामना गर्नुपर्ने चेतावनी दिए।
डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाका राष्ट्रिय राजनीतिक समिति सहअध्यक्ष आशिक सिद्दिकीका अनुसार उनीहरूको रणनीति स्थानीय तहबाट नयाँ नेतृत्व उत्पादन गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने रहेको छ। उनले लुइस जर्ज र माम्दानी दुवै सन् २०२० मा स्थानीय तहबाट निर्वाचित भई राष्ट्रिय राजनीतिमा स्थापित भएको उदाहरण प्रस्तुत गरे।
न्यूयोर्क सिटी डीएसएका सहअध्यक्ष गुस्ताभो गोर्डिलोका अनुसार माम्दानीलाई समर्थन गर्ने अभियानपछि संगठनको सदस्य संख्या ५ हजार ९ सयबाट बढेर १४ हजार पुगेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनाव जित्नु एउटा उपलब्धि भए पनि शासन सञ्चालनमा अनेक चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पनि सहज जित हासिल गर्ने अनुमान गरिएकी लुइस जर्जले विद्युत् तथा उपयोगिता शुल्क घटाउने, हजारौँ किफायती आवास निर्माण गर्ने र सबैका लागि सुलभ बाल हेरचाह सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेकी छन्।
निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले लुइस जर्ज विजयी भए संघीय सरकारले डीसीमा प्रत्यक्ष नियन्त्रण लिन सक्ने चेतावनी दिएका थिए।
विश्लेषकहरूका अनुसार लुइस जर्जको विजयले अमेरिकी राजनीतिमा प्रगतिशील तथा डेमोक्रेटिक समाजवादी धाराको प्रभाव क्रमशः विस्तार भइरहेको संकेत दिएको छ। तर यो प्रभाव आगामी वर्षहरूमा राष्ट्रिय राजनीतिमा कति बलियो रूपमा स्थापित हुन्छ भन्ने प्रश्न भने बाँकी नै रहेको छ।





