श्रीमतीले सम्बोधन गरिरहँदा ओबामा बने भावुक, ट्रम्पमाथि अप्रत्यक्ष व्यङ्ग्य


प्रकाशित मिति : ६ असार २०८३, शनिबार

पत्नी मिशेल ओबामाले प्रशंसा गरेपछि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा निकै भावुक बनेका छन्। शिकागोमा नयाँ ओबामा प्रेसिडेन्सियल सेन्टरको उद्घाटन समारोहमा बराक ओबामा सार्वजनिक कार्यक्रममै भावुक देखिएका हुन्।

मिशेल ओबामाले राष्ट्रपतिका रूपमा बराक ओबामाले गरेको योगदानको चर्चा गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको, अर्थतन्त्रलाई सुदृढ बनाएको तथा नोबेल शान्ति पुरस्कार प्राप्त गरेको उल्लेख गरेकी थिइन्। उनको उक्त टिप्पणीलाई धेरैले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति गरिएको अप्रत्यक्ष व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्। ट्रम्पले पनि आफ्नो कार्यकालमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने चाहना व्यक्त गर्दै आएका छन्।

उद्घाटन समारोहमा पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस र जो बाइडन सहभागी भए पनि ओबामा परिवारसँग लामो समयदेखि राजनीतिक मतभेद रहँदै आएका ट्रम्पलाई निमन्त्रणा गरिएको थिएन।

शिकागोमा निर्माण गरिएको यो केन्द्र ओबामा दम्पतीले ह्वाइट हाउसमा बिताएका आठ वर्षको सम्झनामा स्थापना गरिएको हो। बराक ओबामाले सन् २०१७ मा राष्ट्रपति पद छोडेपछि यस परियोजनाको काम अघि बढाइएको थियो। ओबामा दम्पतीले २० एकड क्षेत्रफलमा फैलिएको यो परिसर शिकागोको दक्षिणी भागस्थित ज्याक्सन पार्क क्षेत्रमा निर्माण गरेका हुन्। उनीहरू ह्वाइट हाउस जानुअघि त्यहीँ बसोबास गर्थे।

बराक ओबामाले यो केन्द्रले नागरिकहरूलाई साझा जिम्मेवारीको भावना सम्झाउने विश्वास व्यक्त गरे। मिशेल ओबामाले आफ्नो सम्बोधनका क्रममा पति बराक ओबामाको सहनशीलता र नेतृत्व क्षमताको प्रशंसा गरिन्। उनले भनिन्, “बराक, मतिर हेर्नुहोस्। आठ वर्षसम्मको कठिन परिस्थितिमा पनि तपाईं कहिल्यै विचलित हुनुभएन।”

उनले ओबामाले अमेरिकी जनताको हितका लागि काम गरेको उल्लेख गर्दै अर्थतन्त्र सुधार, ओसामा बिन लादेनविरुद्ध गरिएको सैन्य कारबाही, स्वास्थ्य सेवा सुधार तथा नोबेल शान्ति पुरस्कारलाई उनका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिन्। मिशेलले अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिका रूपमा ओबामाले अरू नेताभन्दा बढी दबाब र आलोचनाको सामना गर्नुपरेको पनि बताइन्। उनले ओबामाले आफ्नो जन्मस्थान, धर्म र देशभक्तिबारे फैलाइएका गलत आरोपहरूका विरुद्ध सङ्घर्ष गर्नुपरेको स्मरण गरिन्।

सन् २००९ देखि २०१७ सम्म अमेरिकाको ४४ औँ राष्ट्रपतिका रूपमा कार्यरत रहेका ओबामाले यो केन्द्रलाई समुदायको जीवन्त उत्सवका रूपमा विकास गरिएको बताए। समारोहमा उनले प्रत्यक्ष रूपमा डोनाल्ड ट्रम्पको नाम नलिए पनि अमेरिकी राजनीतिमा बढ्दो विभाजन र तनावप्रति चिन्ता व्यक्त गरे। उनले वर्तमान समयमा अमेरिका क्रोध र ध्रुवीकरणको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै नागरिकहरू निष्पक्षता, व्यावहारिक सोच र पारस्परिक सम्मानको खोजीमा रहेको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com