बाल्टीमोरमा विद्यालयबाहिर आइसको कारबाही: दीक्षान्त समारोहका बीच दुई जना पक्राउ


प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

तस्वीर : आइस

अमेरिकाको साउथइस्ट बाल्टीमोरस्थित एक विद्यालय बाहिर बिहीबार बिहान प्रि-किन्डरगार्टन दीक्षान्त समारोह भइरहेका बेला संघीय अध्यागमन एजेन्टहरूले दुई जनालाई पक्राउ गरेका छन्। यस घटनाले विद्यार्थी र अभिभावकहरूमाझ त्रास फैलाउनुका साथै नगर र राज्यका नेताहरूबाट कडा आलोचना निम्त्याएको छ।

नेताहरूका अनुसार संघीय अधिकारीहरूले यसअघि विद्यालयहरूमा अध्यागमन सम्बन्धी धरपकड नगरिने आश्वासन दिएका थिए।यो घटना कमोडोर जोन रोजर्स इलिमेन्ट्री/मिडिल स्कुलमा परिवारहरू शैक्षिक सत्रको अन्त्य र साना बच्चाहरूको दीक्षान्त समारोहका लागि भेला भइरहेका बेला भएको हो।

विद्यालयका प्रधानाध्यापक मार्क मार्टिनले अभिभावकहरूलाई पत्र लेख्दै विद्यार्थीहरू विद्यालय आउने समयमा आइसले दुई जनालाई क्याम्पस बाहिरबाट पक्राउ गरेको पुष्टि गरे। उनले थपे, हामी हाम्रा विद्यालय हाताभित्र यस्ता प्रवर्तन गतिविधिहरू फेरि नहुने स्पष्ट आश्वासनको माग गरिरहेका छौं।

एक प्रत्यक्षदर्शीका अनुसार अधिकारीहरूले विद्यालय अगाडि एउटा गाडीलाई घेरेर एक पुरुषलाई नियन्त्रणमा लिएका थिए। सो क्रममा ती पुरुषले प्रतिवाद गर्दा अधिकारीहरूले उनलाई हिर्काएका थिए। गाडीमा रहेकी एक महिलालाई पनि पछि पक्राउ गरियो।

विद्यालयका कर्मचारीहरूले गाडीबाट दुईजना बालबालिकालाई निकालेर सुरक्षित रूपमा भित्र लगेका थिए। उक्त विद्यालयमा ४५ प्रतिशतभन्दा बढी विद्यार्थी हिस्पानिक समुदायका छन्।

यस घटनाप्रति बाल्टीमोरका मेयर ब्रान्डन स्कट र मेरिल्यान्डका गभर्नर वेस मूरले कडा आपत्ति जनाएका छन्। मेयर स्कटले विद्यालयहरू सुरक्षित स्थान हुनुपर्ने भन्दै अध्यागमन एजेन्टहरूको यस्तो हिंस्रक र अमानवीय शैलीले सार्वजनिक सुरक्षामा सुधार गर्नुको साटो आप्रवासी छिमेकीहरूमाझ डर र चिन्ता बढाएको बताए।

गभर्नर मूरले बालबालिकालाई त्रसित बनाउने र विद्यालय अगाडि परिवारलाई छुट्ट्याउने यस्ता कार्यले समाजलाई सुरक्षित नबनाउने उल्लेख गरे।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com