न्यू जर्सी अध्यागमन हिरासत केन्द्रमा विरोध प्रदर्शनपछि पारिवारिक भेटघाट पुन: सुरु


प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार

डिलेनी हल हिरासत केन्द्र बाहिर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल। तस्बिर: एपी/आन्द्रेस कुडाकी/रासस

न्यू जर्सीस्थित एक अध्यागमन हिरासत केन्द्र बाहिर केही दिनदेखि जारी विरोध प्रदर्शन, गिरफ्तारी र झडपका कारण स्थगित गरिएको पारिवारिक भेटघाट कार्य पुन: सुरु हुन लागेको छ। गभर्नर मिकी शेरिलले आइतबार यस कुराको घोषणा गरेका छन्।

नेवारकको ‘डेलाने हल’  बाहिर एक हप्ताभन्दा बढी समयदेखि प्रदर्शनकारीहरू हिरासतमा रहेका व्यक्तिहरूको समर्थनमा जम्मा भइरहेका छन्। हिरासतमा रहेकाहरूले केन्द्रभित्र अपर्याप्त चिकित्सा सेवा, नाजुक जीवनस्तर र अध्यागमन प्रक्रियामा अत्यधिक ढिलाइ भएको आरोप लगाएका छन्; यद्यपि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने यी आरोपहरूलाई अस्वीकार गरेको छ। यता, हिरासतमा रहेका व्यक्तिहरूले भोक हडताल र काम ठप्प पारेर विरोध गरिरहेको बताइएको छ।

संघीय अधिकारीहरूले प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीहरूलाई धम्की दिएको र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

शनिबार पनि डेलाने हल बाहिरको वातावरण निकै तनावपूर्ण रह्यो। त्यहाँ हिरासतमा रहेकाहरूको समर्थन गरिरहेका प्रदर्शनकारी र आइस अधिकारीहरूको समर्थनमा उत्रिएका अर्को समूहबीच आमनेसामने स्थिति सिर्जना भएको थियो।

सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै नेवारकका मेयर रास बाराकाले उक्त हिरासत केन्द्र वरपर रात्रिकालीन कर्फ्यु लगाएका छन्। मेयर बाराका आफैँ पनि गत वर्ष सोही केन्द्रको निरीक्षण भ्रमणका क्रममा बाहिरबाट पक्राउ परेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com