अमेरिकामा गर्भपतनको औषधि ‘मिफेप्रिस्टोन’ हुलाकमार्फत प्राप्त गर्न सकिने
प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार
अमेरिकामा गर्भपतनका लागि प्रयोग हुने औषधि ‘मिफेप्रिस्टोन’ हुलाकमार्फत प्राप्त गर्न सकिने भएको छ। अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत औषधि प्राप्त गर्न सकिने पुरानो प्रावधानलाई कायम राख्ने फैसला सुनाएपछि यो मार्ग प्रशस्त भएको हो।
यो औषधि उत्पादन गर्ने दुई कम्पनीले तल्लो अदालतले मिफेप्रिस्टोनको पहुँचमा कडा प्रतिबन्ध लगाएपछि सर्वोच्च अदालतसँग हस्तक्षेपको माग गरेका थिए। सर्वोच्च अदालतको आदेशसँगै ती प्रतिबन्धहरू तत्कालका लागि रोकिएका छन्। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म औषधिमा सर्वसाधारणको पहुँच कायम रहने देखिएको छ। यस मुद्दाको अन्तिम फैसला सम्भवतः अर्को वर्ष मात्र आउनेछ।
अमेरिकामा गर्भपतनका लागि प्रयोग हुने सबैभन्दा सामान्य विधि औषधिमार्फत गरिने गर्भसमापन हो। विशेषगरी गर्भपतन प्रतिबन्धित राज्यहरूमा हुलाकमार्फत औषधि खरिद गर्नेहरूको सङ्ख्या उल्लेख्य छ।
यसअघि सन् २०२३ मा अमेरिकी खाद्य तथा औषधि प्रशासनले चिकित्सकले बिरामीलाई प्रत्यक्ष नभेटी ‘टेलिमेडिसिन’ सेवामार्फत औषधि पठाउन सक्ने अनुमति दिएको थियो। त्यसपछि महिलाहरूले हुलाक वा औषधि पसलमार्फत मिफेप्रिस्टोन प्राप्त गर्न थालेका थिए।
तर, लुइजियाना राज्यले गत अक्टोबरमा एफडीए विरुद्ध मुद्दा दायर गर्दै हुलाकमार्फत मिफेप्रिस्टोन पठाउने व्यवस्था रोक्न माग गरेको थियो। राज्यले यस्तो व्यवस्था आफ्नो गर्भपतन प्रतिबन्धसम्बन्धी कानुनविपरीत भएको दाबी गरेको थियो।
यसै महिनाको सुरुवातमा पुनरावेदन अदालतले मिफेप्रिस्टोन लिनका लागि सम्बन्धित व्यक्ति प्रत्यक्ष उपस्थित हुनैपर्ने पुरानो नियम अस्थायी रूपमा पुनः लागू गरेको थियो। अदालतले एफडीए को निर्णयले लुइजियानाको चिकित्सकीय गर्भपतन प्रतिबन्धलाई कमजोर बनाएको” टिप्पणीसमेत गरेको थियो।
मिफेप्रिस्टोन गर्भपतनका लागि एफडीए द्वारा स्वीकृत दुई औषधिमध्ये पहिलो हो। जहाँ गर्भपतन कानुनी छ, त्यहाँ यो औषधि व्यापक रूपमा उपलब्ध छ। कोभिड-१९ महामारीका क्रममा सन् २०२१ मा एफडीए ले प्रत्यक्ष उपस्थित भएर मात्रै औषधि लिनुपर्ने नियम हटाएको थियो।
त्यसपछि सन् २०२३ मा हुलाकमार्फत स्थायी रूपमा औषधि पठाउन अनुमति दिइएको हो। हालसम्म अमेरिकाका २० भन्दा बढी राज्यले गर्भपतनमा पूर्ण प्रतिबन्ध वा कडा नियन्त्रण लागू गरिसकेका छन्।





