भान्स कि रुबियो ? ट्रम्पको ‘ड्रिम टिम’ भित्र सुरु भयो उत्तराधिकारीको खोजी


प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार

फोटो: एआईको सहयोगमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारीका रूपमा जे.डी. भान्स वा मार्को रुबियोमध्ये कसलाई चयन गर्लान् भन्ने अड्कलबाजी सुरु हुन थालेका छन्।

भान्स उपराष्ट्रपति र रुबियो विदेशमन्त्रीको भूमिकामा सक्रिय रहिरहँदा, सन् २०२८ को राष्ट्रपति चुनावमा ट्रम्पको समर्थन कसले पाउला भन्ने कौतुहलता हुनु स्वाभाविक नै हो।

केही दिनअघि ह्वाइट हाउसको ‘रोज गार्डेन’ मा आयोजित एक कार्यक्रममा ट्रम्पले उपस्थितहरूलाई २०२८ को राष्ट्रपतीय उम्मेदवारका रूपमा भान्स वा रुबियोमध्ये कसलाई रुचाउनुहुन्छ भनी ताली बजाउन आग्रह गरेका थिए।

उपस्थित दर्शकहरूले भान्सका लागि केही बढी ताली बजाए पनि ट्रम्पले भने कसैलाई स्पष्ट समर्थन गरेनन्। बरु, उनले भान्स र रुबियोको जोडीलाई “ड्रिम टिम” र “परफेक्ट टिकट” को संज्ञा दिए।

भान्सले भने आफू र रुबियो दुवै अहिले अमेरिकी जनताको सेवामा केन्द्रित रहेको बताएका छन्। उनले भने, “म मार्कोलाई धेरै मन पराउँछु। उनी उत्कृष्ट विदेशमन्त्री हुन् र मेरो नजिकको साथी पनि बनेका छन्। तर अहिले हामी दुवैको प्राथमिकता जनताको काम नै हो।”

ट्रम्प र रुबियो चीन भ्रमणमा रहेका बेला भान्सले ह्वाइट हाउसबाटै संघीय स्वास्थ्य सेवा कार्यक्रममा हुने ठगी नियन्त्रणसम्बन्धी गतिविधिमा सहभागिता जनाए। उनले विशेष गरी क्यालिफोर्नियालाई लक्षित गर्दै ‘मेडिकेयर’ र ‘मेडिकेड’ कार्यक्रममा हुने ठगी रोक्न नयाँ कदमहरूको घोषणा समेत गरेका छन्।

उनले प्रशासनको यो अभियान राजनीतिक उद्देश्यबाट प्रेरित नभएको दाबी गरे। “यदि कुनै भ्रष्ट गभर्नरले सहकार्य गर्दैनन् भने हामी अन्य उपाय अपनाउँछौं,” उनले स्पष्ट पारे।

भान्स मेन राज्यको बाङ्गोरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुँदैछन्, जहाँ उनले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा चुनावी प्रचार गर्नेछन्। उता, रुबियोले पनि हालै ह्वाइट हाउसमा पत्रकार सम्मेलनमार्फत निकै चर्चा बटुलेका छन्। प्रेस सचिव करोलिन लेभिट मातृत्व बिदामा रहेका बेला उनले प्रेस ब्रिफिङको जिम्मेवारी समेत सम्हालेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भान्सले इरानसँगको वार्ता र मध्यपूर्वको वर्तमान अवस्थाबारे पनि प्रतिक्रिया दिएका थिए। उनले ट्रम्प प्रशासन अमेरिकी जनताको आर्थिक अवस्थाप्रति गम्भीर रहेको उल्लेख गर्दै भने, “निश्चय नै राष्ट्रपति, म र हाम्रो सम्पूर्ण टोली अमेरिकी जनताको आर्थिक समुन्नतिप्रति चिन्तित र प्रतिबद्ध छौं।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com