इरानको युद्ध अन्त्यको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार, पुनः युद्ध सुरु हुने जोखिम


प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्प । फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले अमेरिकाले पठाएको प्रस्तावमा इरानको जवाफ पूर्णतः असहज र अस्वीकार्य भएको बताएका हुन्।

पाकिस्तानमार्फत पठाइएको इरानी प्रस्तावमा सबै मोर्चामा तत्काल युद्धविराम, अमेरिकी समुद्री घेराबन्दीको अन्त्य तथा भविष्यमा इरानमाथि थप आक्रमण नहुने प्रत्याभूति (ग्यारेन्टी) समावेश गरिएको थियो। पाकिस्तानले यस विवादमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।

अमेरिका र इजरायलले फागुनमा सुरु गरेको युद्ध अन्त्य गर्न वार्तालाई सहज बनाउने उद्देश्यले गरिएको युद्धविराम अधिकांश समय कायम रहे पनि बीच-बीचमा गोलीबारीका घटनाहरू भइरहेका छन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले इरानको उच्चस्तरीय युरेनियम भण्डार पूर्ण रूपमा नष्ट नगरिएसम्म युद्ध अन्त्य भएको मान्न नसकिने बताएका छन्। नेतन्याहूले भने, “अझै पनि युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पार्न बाँकी नै छ।”

यता, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले शत्रुसामु कहिल्यै शिर नझुकाउने बताएका छन्। संवाद वा वार्ताको अर्थ आत्मसमर्पण वा पछि हट्नु नभएको उनको भनाइ छ।

अमेरिकी प्रस्तावको १४ बुँदे ज्ञापनपत्रमा इरानले युरेनियम प्रशोधन रोक्नुपर्ने, इरानमाथिका प्रतिबन्धहरू हटाइने तथा हर्मुज जलमार्गमा स्वतन्त्र जलयात्रा पुनःस्थापना गर्ने जस्ता प्रावधानहरू समावेश छन्।

इरानले अझै पनि हर्मुज जलमार्ग अवरुद्ध गरिरहेका कारण विश्वव्यापी रूपमा तेलको मूल्य वृद्धि भएको छ। अर्कोतर्फ, अमेरिकाले इरानी बन्दरगाहहरूमा घेराबन्दी जारी राख्दै दबाब बढाइरहेको छ, जसले इरानलाई थप आक्रोशित बनाएको छ। यसअघि इरानले आफ्ना छिमेकी राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना नगर्न चेतावनी समेत दिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com