अमेरिकाद्वारा इरानका सैन्य केन्द्रहरूमा हमला,’सम्झौता नगरे अझै कडा हमला हुने’ ट्रम्पको चेतावनी
प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार
फोटो : एएफपी/रासस
अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा हमला गरेको छ। अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकम) ले इरानी सैन्य संरचनामाथि आक्रमण गरिएको पुष्टि गरेको हो।
सेन्टकमका अनुसार ती इरानी सैन्य केन्द्रहरूले हर्मुज जलमार्ग हुँदै अघि बढिरहेका अमेरिकी युद्धपोतहरूमाथि मिसाइल, ड्रोन र साना डुङ्गामार्फत आक्रमण गरेका थिए।
मे ७ मा अमेरिकी नौसेनाका निर्देशित-मिसाइल विनाशक जहाजहरू ओमानको खाडीतर्फ जाँदै गर्दा इरानले आक्रमण गरेको सेन्टकमको दाबी छ। अमेरिकी सेनाले ती आक्रमणहरूलाई विफल तुल्याउँदै आत्मरक्षाका लागि जवाफी हमला गर्नुपरेको जनाएको छ।
अमेरिकाले निशाना बनाएका इरानी सैन्य केन्द्रहरूमा मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, कमाण्ड एण्ड कन्ट्रोल सेन्टर , र गुप्तचर तथा निगरानी प्रणालीहरू समावेश रहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणपछि सामाजिक सञ्जालमार्फत इरानलाई थप तनाव नबढाउन चेतावनी दिएका छन्। उनले छिट्टै सम्झौतामा हस्ताक्षर गर्न आग्रह गर्दै भनेका छन्, “यदि उनीहरूले चाँडै सम्झौता गरेनन् भने भविष्यमा अझ कडा र ठोस कारबाही हुनेछ।”
ट्रम्पले अमेरिकी युद्धपोततर्फ प्रहार गरिएका मिसाइलहरू सजिलै खसालिएको र ड्रोनहरू आकाशमै नष्ट गरिएको दाबी समेत गरे।
सेन्टकमका अनुसार इरानी सेनाले अमेरिकी विनाशक जहाजहरू ट्रक्सटन, राफायल पेराल्टा र मेसन लाई लक्षित गरी हमला गरेको थियो। यद्यपि, हालसम्म कुनै पनि अमेरिकी सैन्य सम्पत्तिमा क्षति नपुगेको दाबी गरिएको छ।
यता, इरानी सशस्त्र बलका प्रवक्ताले भने अमेरिकी हवाई आक्रमणबाट केश्म टापु, बन्दर खामिर र सिरिक तटीय क्षेत्रका सर्वसाधारण बसोबास गर्ने स्थानहरू प्रभावित भएको बताएका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जनरल केनले अमेरिकी सेना हाल रक्षात्मक अवस्थामा रहे पनि आवश्यक परे कडा जवाफी कारबाहीका लागि तयार रहेको बताएका छन्।





