ट्रम्पको हत्या प्रयासपछि ह्वाइट हाउसको सुरक्षाका लागि रिपब्लिकनद्वारा १ बिलियन डलरको बजेट प्रस्ताव
प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार
ह्वाइट हाउसको ‘बलरुम’को सुरक्षालाई मजबुत बनाउन अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) लाई १ बिलियन डलर उपलब्ध गराउने प्रस्ताव गरिएको छ। बलरुम भनेको ठूला र औपचारिक कार्यक्रमका लागि बनाइएको विशेष हल हो।
अमेरिकी सिनेटका रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई साथ दिन यो प्रस्ताव अघि सारेका हुन्। यसलाई आप्रवासन नियन्त्रणसम्बन्धी प्याकेजको हिस्साका रूपमा लिइएको छ।
रिपब्लिकन नेतृत्वमा रहेका दुई सिनेट समितिहरूले करिब ७० बिलियन डलरको योजना सार्वजनिक गरेका छन्। जसअन्तर्गत अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन (आइस) र सीमा सुरक्षाका लागि बजेट छुट्याउने योजना छ। उनीहरूले यो विधेयक केवल रिपब्लिकनहरूको मतबाट पारित गर्ने तयारी गरेका छन्।
सिनेट न्यायिक र होमल्याण्ड सेक्युरिटी समितिहरूले ‘आइस’का लागि करिब ३८ बिलियन डलर र अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका लागि करिब २६ बिलियन डलर खर्च गर्ने प्रस्ताव गरेका छन्। यो बजेट सन् २०२९ सेप्टेम्बरसम्म लागू रहनेछ।
न्यायिक समितिले यसैसँगै थप १ बिलियन डलर सिक्रेट सर्भिसका लागि छुट्याएको छ, जुन ट्रम्पको बलरुम परियोजनाको सुरक्षामा प्रयोग हुनेछ।
उक्त रकम “पूर्वी भाग आधुनिकीकरण परियोजना” अन्तर्गत माथिल्लो र भूमिगत सुरक्षा संरचना सुधार गर्न प्रयोग गरिने उल्लेख गरिएको छ। साथै, यो रकम परियोजनाका गैर-सुरक्षासम्बन्धी काममा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
यसअघि ट्रम्प प्रशासनले बलरुम निर्माणका लागि निजी दाताबाट रकम जुटाइने बताउँदै आएको थियो। तर, गत महिना ह्वाइट हाउस संवाददाता डिनरमा भएको गोलीकाण्डपछि रिपब्लिकनहरू बलरुम निर्माणको आवश्यकताबारे थप सक्रिय देखिएका छन्। केहीले यसको खर्चको केही भाग सरकारी कोषबाट व्यहोर्नुपर्ने तर्क गरेका छन्।
ह्वाइट हाउसका प्रवक्ता डेभिस इन्गलले हालैको आक्रमण प्रयासलाई ध्यानमा राख्दै ह्वाइट हाउस परिसरको सुरक्षालाई पूर्ण रूपमा सुदृढ बनाउन यी स्रोतहरू आवश्यक भएको बताएका छन्।





