चीनको पटका कारखानामा विष्फोट: कम्तीमा २१ को मृत्यु, ६१ जना घाइते


प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार

तस्बिर: सिन्ह्वा/रासस

चीनको हुनान प्रान्तस्थित एक आतिशबाजी (पटका) कारखानामा भीषण विष्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। उक्त दुखद घटनामा अन्य ६१ जना घाइते भएका छन्।

हुनान प्रान्तको लिउयाङ सहरमा रहेको ‘हुआशेङ फायरवर्क्स प्लान्ट’मा सो विष्फोट भएको हो। विष्फोट यति शक्तिशाली थियो कि यसले कारखाना नजिकैका आवासीय भवनहरूका झ्यालका सिसाहरू समेत फुटाएको थियो। घटना लगत्तै उद्धारकर्ताहरूले कारखानाको ३ किलोमिटर क्षेत्र भित्र रहेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारेका थिए।

अधिकारीहरूले खोज तथा उद्धारका लागि करिब ५०० सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरेका छन्। भवनको भग्नावशेषभित्र फसेका मानिसहरूको खोजी गर्न रोबोटको समेत प्रयोग गरिएको छ। घाइते हुनेहरूमा २० देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङले घटनाप्रति चासो व्यक्त गर्दै हराइरहेकाहरूको खोजी कार्यलाई तीव्र बनाउन र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। साथै, उहाँले घटनाको गम्भीर छानबिन गरी दोषी देखिएका पक्षमाथि कडा कारबाही गर्न समेत आग्रह गर्नुभएको छ।

लिउयाङ सहर विश्वकै सबैभन्दा ठूलो आतिशबाजी उत्पादक क्षेत्रका रूपमा प्रसिद्ध छ। चीनमा आतिशबाजी कारखानाहरूमा हुने यस्ता विष्फोटका घटनाहरू पटक-पटक दोहोरिने गरेका छन्।

यसअघि गत फेब्रुअरीमा पनि हुबेइ प्रान्तमा भएको यस्तै एक विष्फोटमा १२ जनाले ज्यान गुमाएका थिए। सुरक्षा मापदण्डको कमजोरीका कारण यस्ता औद्योगिक दुर्घटनाहरू चीनका लागि ठूलो चुनौती बन्दै आएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com