समुद्रमै स्वास्थ्य संकट: जहाजमा फैलिएको भाइरसले तीनको ज्यान लियो, डब्लुएचओद्वारा अनुसन्धान सुरु
प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार
एटलान्टिक महासागरमा सञ्चालित एक क्रुज जहाजमा दुर्लभ ‘हान्टाभाइरस’ संक्रमण फैलिँदा तीन जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका अनुसार अन्य केही व्यक्तिहरू पनि यसबाट बिरामी परेका छन्।
मृत्यु हुनेमध्ये पहिलो व्यक्ति ७० वर्षीय पुरुष हुन्, जसको जहाजमै निधन भएको थियो। उनको शव दक्षिण एटलान्टिकस्थित सेन्ट हेलेना टापुमा ओारिएको थियो। उनकी श्रीमतीको भने दक्षिण अफ्रिकामा विमान चढ्ने क्रममा अचानक बिरामी भई अस्पतालमा मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल सघन उपचारमा रहेका बिरामी बेलायती नागरिक हुन्। जहाज सेन्ट हेलेनाबाट प्रस्थान गरेपछि एसेन्सन टापु नजिक उनी बिरामी परेका थिए, जहाँबाट उनलाई उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो।
डब्लुएचओले कम्तीमा एक जनामा हान्टाभाइरस संक्रमण पुष्टि भइसकेको र थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ। संक्रमितमध्ये एक जना दक्षिण अफ्रिकाको अस्पतालमा उपचाररत छन् भने अन्य दुई जना बिरामी यात्रुलाई जहाजबाट सुरक्षित रूपमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ।
हान्टाभाइरस विश्वभर पाइने एक प्रकारको भाइरस हो, जुन मुख्यतया मुसा वा अन्य ‘कृतक’ प्रजातिका प्राणीको पिसाब वा दिसाको सम्पर्कमा आउँदा सर्ने गर्दछ। यो भाइरसले गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ, जसलाई “हान्टाभाइरस पल्मोनरी सिन्ड्रोम” भनिन्छ। यो एक जटिल र घातक रोग हो।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका अनुसार संक्रमण ‘एमभी होन्डीयस’ नामक क्रुज जहाजमा फैलिएको हो। उक्त जहाज करिब तीन हप्ताअघि अर्जेन्टिनाबाट प्रस्थान गरेको थियो।
एन्टार्कटिका र फकल्यान्ड टापु हुँदै स्पेनको क्यानरी टापु पुग्ने यसको योजना थियो। जहाजमा करिब १५० पर्यटक र ७० जना चालक दलका सदस्य सवार थिए।
डब्लुएचओले जहाज सञ्चालक र सम्बन्धित देशका निकायहरूसँग मिलेर जनस्वास्थ्य जोखिमको मूल्याङ्कन गरिरहेको जनाएको छ। दक्षिण अफ्रिकाको राष्ट्रिय संक्रामक रोग संस्थानले संक्रमितहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान सुरु गरेको छ।
विशेषज्ञहरूका अनुसार हान्टाभाइरसको कुनै विशेष औषधि वा उपचार उपलब्ध नभए पनि समयमै पहिचान भएमा बिरामीको ज्यान जोगाउन सकिन्छ।





