इरानको १४-बुँदे शान्ति प्रस्तावमा ट्रम्पको असहमति, ‘प्रोजेक्ट फ्रिडम’ मार्फत कारबाहीको चेतावनी


प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

इरानी राज्य सम्बद्ध सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले पाकिस्तानमार्फत आफ्नो पछिल्लो प्रतिक्रिया इरानलाई हस्तान्तरण गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघाएईले अमेरिकी प्रतिक्रियाको समीक्षा भइरहेको बताएका छन्। तर, अमेरिकाले औपचारिक रूपमा इरानी प्रस्ताव र धारणाबारे प्रतिक्रिया दिएको पुष्टि अहिलेसम्म गरेको छैन।

इरानले अमेरिकी नौ-बुँदे योजनाको जवाफस्वरूप नयाँ प्रस्ताव पेस गरेको हो, जसमा दुई महिनाको युद्धविराम प्रस्ताव गरिएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा इरानको प्रस्ताव आफूलाई स्वीकार्य नहुने सङ्केत दिएका छन्।

इरानले पेस गरेको १४-बुँदे शान्ति प्रस्तावमा अमेरिकाले इरान नजिक तैनाथ आफ्ना सैन्य बल फिर्ता गर्नुपर्ने, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने तथा सबै प्रकारका सैन्य गतिविधि रोकिनुपर्ने उल्लेख छ।

उक्त प्रस्तावमा ३० दिनभित्र दुई देशबीच औपचारिक सहमति कायम गर्नुपर्ने र वर्तमान अस्थायी युद्धविरामलाई लम्ब्याउनुभन्दा पनि दीर्घकालीन रूपमा युद्ध अन्त्यमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।

प्रवक्ता बघाएईले अमेरिकासँग अहिले परमाणु वार्ता नभएको स्पष्ट पारेका छन्। परमाणुको विषय अमेरिकाको प्रमुख मागमध्ये एक हो। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ; यद्यपि उसले युरेनियमलाई हतियार निर्माण गर्न सकिने स्तरसम्म संवर्द्धन गरेको तथ्य अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा अड्किएका जहाजहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्। ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको उक्त पहल सोमबारदेखि लागू हुने र त्यसमा अवरोध सिर्जना भए कडा कारबाही गरिने चेतावनी उनले दिएका छन्।

फेब्रुअरीदेखि जारी द्वन्द्वपछि इरानले उक्त महत्त्वपूर्ण जलमार्गमा जहाज आवागमनमा कडाइका साथ नियन्त्रण गर्दै आएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com