अमेरिकाको पोर्टल्यान्डमा सवारी दुर्घटनापछि विष्फोट, एक जनाको मृत्यु
प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार
अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्ड सहरमा दुर्घटनामा परेको एउटा सवारीसाधन विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। एक स्वास्थ्य क्लब परिसरमा भएको सवारी दुर्घटना र त्यसपछिको आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त सवारीसाधनमा विष्फोटक पदार्थ रहेको प्रमाण समेत फेला परेको छ। पोर्टल्यान्ड प्रहरी ब्युरोका अनुसार यो घटना मल्टनोमा एथलेटिक क्लब मा भएको हो। सन् १८९१ मा स्थापना भएको उक्त क्लब २१ हजारभन्दा बढी सदस्यहरू भएको अमेरिकाकै ठूला निजी खेलकुद तथा सामाजिक क्लबहरूमध्ये एक मानिन्छ।
प्रहरीले आगो नियन्त्रणमा आएपछि सवारीसाधनभित्र एक जनाको शव फेला पारेको थियो। क्लबका प्रवक्ता एडम लिनम्यानका अनुसार दुर्घटना क्लब बन्द रहेको समयमा भएको हुनाले कुनै पनि सदस्य वा कर्मचारी घाइते भएका छैनन्।
यस घटनाको विस्तृत अनुसन्धानका लागि मदिरा, सुर्तीजन्य पदार्थ, हतियार तथा विष्फोटक पदार्थसम्बन्धी संघीय निकाय का विशेष एजेन्टहरू खटिएका छन्।





